सिन्धुलीमा महिलाहरुको नाममा व्यवासय दर्ता गर्नेहरुको संख्या बढेको छ ।घरेलु तथा बाणिज्य कार्यालय सिन्धुलीमा आर्थिक वर्ष २०८१/०८२ मा कुल दुई सय ९९ वटा उद्योग तथा व्यवसाय दर्ता हुँदा एक सय ५९ वटा अर्थात ७० प्रशित उद्योग तथा व्यवसाय महिलाको नाममा दर्ता भएका घरेलु तथा बाणिज्य कार्यालय सिन्धुलीका प्रमुख ध्रुव प्रसाद ढकालले जानकारी दिए ।
उनका अनुसार उद्योग तर्फ एक सय ६८ र बाणिज्य तर्फ एक सय ३१ गरी कुल दुई सय ९९ वटा उद्योग तथा व्यवसाय दर्ता भएकामा एक सय ५९ वटा अर्थात ७० प्रशित उद्योग तथा व्यवसाय महिलाको नाममा दर्ता भएका छन् ।महिलाको नाममा उद्योग तथा व्यवसाय दर्ता पुरुषको तुलनामा ५० प्रशित राजश्व छुट हुने भएकाले पनि महिलाहरुको नाममा उद्योग तथा व्यवसाय दर्ता गर्ने क्रम बढेको कार्यालयले जर्नाको छ ।
एक हजार पाँच सय छ वटा उद्योग तथा व्यवसाय नविकरण गर्दा दुई सय २६ वटा उद्योग तथा व्यवसायहरुको लगत कट्टा/दर्ता खारेजी गरिएको कार्यालयकी सूचना अधिकारी सरिता मगरले जानकारी दिईन् ।उनका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा ५६ वटा उद्योग तथा व्यवसायको पुजी वृद्धि भएको र २० वटा उद्योग तथा व्यवसायको नामसारी तथा १३ वटा उद्योग तथा व्यवसायको ठाउँसारी गरिएको छ ।कार्यालयले आर्थिक वर्ष २०८१/०८२ मा रु ८४ लाख ३४ हजार आठ सय ७५ बराबरको राजश्व संकलन गर्दा विभिन्न किसिमका १२ वटा सीपमूलक तालिमबाट दुई सय ३१ जना लाभान्वित भएका छन् ।
कार्यालयले आर्थिक वर्ष २०८१/०८२ मा ५० प्रतिशत अनुदानमा एक सय सात जनालाई मेसिन औजार हस्तान्तरण गरेको छ भने दुई वटा नगरपालिका र सात वटा गाउँपालिका गरी कुल नौ वटा स्थानीय तह रहेको सिन्धुलीमा २१ पटकमा तीन सय २५ वटा उद्योग तथा व्यवसायको अनुगमन गर्दा रु दुई लाख ९५ हजार बराबर जरीवाना गरिएको कार्यालय प्रमुख ढकालले बताए । उनका अनुसार करिब रु तीन लाख ४२ हजार सात सय ८१ बराबरको सामान जफत/नष्ट गरिएको छ ।
आर्थिक वर्ष २०८१/०८२ मा ९१ प्रतिशत भौतिक प्रगति गरेको कार्यालयको ७७ दशमलव ६० प्रतिशत वित्तिय प्रगति भएको कार्यालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख गरिएको छ ।जिल्लाका विद्यालयहरुमा पाँच पटक र समुदायकस्तरमा एक पटक उपभोक्ता सचेतना कार्यक्रम समेत सञ्चालन गरेको कार्यालयले जनाएको छ।बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/०८३ मा महिलाहरुको नाममा उद्योग तथा व्यवसाय दर्ता गर्दा ७५ प्रतिशत राजश्वमा छुट घोषणा गरेका कारण महिलाहरुको नाममा उद्योग तथा व्यवसाय दर्ता गर्नेहरुको संख्या अझ बढ्ने कार्यालयले अनुमान गरेको छ ।