जातीय भेदभाव तथा छुवाछूत कसुर मुद्दाका आरोपितलाई हिरासतबाट छुटाउने काम गरेका भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठलाई पदबाट हटाउँन माग गर्दै सर्लाहीमा प्रदर्शन भएको छ ।
नेकपा(एमाले)को भ्रातृ संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज प्रदेश २ कमिटीले जातीय भेदभाव तथा छुवाछूत कसुर मुद्दाका आरोपितलाई हिरासतबाट छुटाउने काम गरेका भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री श्रेष्ठलाई पदबाट हटाउँन माग गरेको हो ।
समाजले प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री श्रेष्ठलाई तत्काल पदबाट बर्खास्त गर्न माग गरेको छ । मन्त्री श्रेष्ठले पदको दुरुपयोग गरी संचारकर्मी रुपा सुनारलाई कोठा दिने सहमति गरिसकेर जात थाहा पाउनासाथ बहिष्कार गरेको अभियोगमा पक्राउ परेकी काठमाडौं बबरमहलकी घरधनी सरस्वती प्रधानलाई बुधबार आफैं महानगरीय प्रहरी वृत्ति (सिंहदरबार) पुगेर हिरासतमुक्त गराई आफ्नै झन्डावाल गाडीमा घर पु¥याइदिएको विरोधमा समाजले विज्ञप्ती निकाले हो ।
मन्त्री श्रेष्ठले नेपालको संविधान २०७२ को प्रस्तावना साथै धारा १८ को समानताको हक ,धारा २४ को जातीय भेदभाव तथा छुवाछूत विरुद्धको हक ऐन २०६८ को धज्जि उडाएको भन्दै समाजको गम्भीर ध्यानाकर्षण भएको प्रदेश २ कमिटीका अध्यक्ष गोविन्द पासवानद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिमा राजकीय ओहोदामा आसिन ब्यक्तिले पदिय मर्यादा ,आचरण र गोपनियताको सपथलाई ठाडो उलंघन गरेकोले उक्त घृणित कार्यको समाजले घोर भत्सर्ना गरेको उल्लेख गरिएको छ । समाजले अनुसन्धानमा रहेकी घरभेटी प्रधान माथि थप अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याएर दोषी भए हदैसम्मको कार्यवाही गर्न पनि माग गरेको छ ।