४४ औं मगर एकता दिवस सर्लाहीमा विभिन्न सांस्कृतिक तथा औपचारिक कार्यक्रमका साथ भव्य रूपमा मनाइएको छ।नेपाल मगर संघ जिल्ला समिति सर्लाहीको आयोजनामा हरिवनमा रहेको सरस्वती पार्टी प्यालेसमा शुक्रबार मगर समुदायका अगुवा,स्थानीय जनप्रतिनिधि, सामाजिक अभियन्ता तथा सर्वसाधारणको उल्लेख्य उपस्थितिमा ४४ औँ मगर दिवश मनाइएको हो ।
कार्यक्रममा मगर समुदायको मौलिक पहिचान झल्किने झाँकी,सांस्कृतिक नृत्य तथा गीत प्रस्तुत गरिएको थियो।वक्ताहरूले मगर समुदायको भाषा,संस्कृति र परम्परा संरक्षणमा एकजुट हुनुपर्नेमा जोड दिएका थिए ।उनीहरूले मगर जातिको इतिहास र योगदानलाई राज्यले उचित सम्मान गर्नुपर्ने धारणा पनि व्यक्त गरे।जिल्ला समितिका पदाधिकारीहरूले मगर दिवसले समुदायबीच एकता,पहिचान र आत्मसम्मानको भावना बढाउने विश्वास व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम संचालन गर्ने प्रतिबद्धता जनाएका छन् ।
कार्यक्रम अन्त्यमा सहभागीहरूबीच शुभकामना आदानप्रदान तथा सामूहिक सांस्कृतिक प्रस्तुति गरिएको थियो।मगर एकता दिवसकै अवसरमा हरिवन,लालबन्दी र बागमती नगरपालिकाले शुक्रबार सार्वजनिक बिदा समेत दिएको थियो ।नेपाल मगर संघ सर्लाहीका अध्यक्ष कमलबहादुर क्यापछाकी (कामना)को अध्यक्षता तथा मधेश प्रदेश सभा सदस्य बेची लुंगेलीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।