महामन्त्री थापा सर्लाही ४ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्ने, १ र २ मा उम्मेदवारको नाम टुङ्गो लागेन

221 Shares

नेपाली कांग्रेस सर्लाही क्षेत्र नम्बर १,२ र ४ नम्वर निर्वाचन क्षेत्रमा आगामी निर्वाचनको उम्मेदवार सिफारिस गर्ने सम्वन्धमा बैठक सम्पन्न भएको छ ।क्षेत्रीय कार्य समिति,संघीय तथा प्रदेश महाधिवेशन प्रतिनिधि र वडा सभापतिहरु समेतको उपस्थितिमा सर्लाहीको क्षेत्र नम्बर १ को बयलवास,क्षेत्र नम्बर २ को मलंगवा र क्षेत्र नम्बर ४ को धनकौलमा बृहत बैठक सम्पन्न भएको नेपाली कांग्रेस सर्लाहीका कार्यवाहक सभापति डा.सरोज कुमार राय यादवले जानकारी दिए ।
उनका अनुसार केन्द्रीय कार्य समितिले सर्लाहीका चारवटै निर्वाचन क्षेत्रमा प्रत्येक निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभामा प्रत्यक्षतर्फ एक महिलासहित तीन जना,समानुपातिकतर्फ पनि एक महिलासहित तीन जना र राष्ट्रिय सभामा एक जनाको मात्रै नाम सिफारिस गरेर पठाउन परिपत्र गरे अनुसार क्षेत्रीय कार्य समितिको अगुवाईमा आ–आफ्नो निर्वाचन क्षेत्रमा बृहत बैठक बसेको हो ।
तर क्षेत्र नं. १ र २ मा धेरै जना आकांक्षी देखिएपछि मंगलबारबो बैठकले कसैको पनि नाम सिफारिस गर्न नसकेको नेपाली कांग्रेस सर्लाही क्षेत्र नम्बर १ का सभापति हरिबहादुर लंगेलीले बताए।उनका अनुसार प्रत्यक्षतर्फ नौ ÷१० जनाको नाम आएपछि निर्णय लिन समस्या भएपछि बुधबार फेरि बैठक बस्ने छ ।
मंगलबार नै बसेको कांग्रेस क्षेत्र नं. १ प्रदेश सभा (ख) को बैठकले प्रतिनिधि सभा निर्वाचनमा निर्वाचन क्षेत्र भित्रैका नेतालाई उम्मेदवार सिफारिस गर्न माथिल्लो समितिलाई आग्रह गर्ने निर्णय गरेको छ ।त्यस्तै क्षेत्र नं. २ मा पनि धेरै जना आकांक्षी देखिए पछि मंगलबार उम्मेदवार सिफारिसको निर्णय हुन नसकेको क्षेत्रीय सभापति कौशलकिशोर रायले बताए ।उनका अनुसार क्षेत्रीय कार्य समितिलाई नै उम्मेदवार सिफारिस गर्ने जिम्मेवारी दिएको दावी गर्दै कार्य समितिको मात्रै बैठक गरेर तत्कालै उम्मेदवार सिफारिस गर्ने छ ।
यता,सर्लाही क्षेत्र नं. ४ को बैठकले भने प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फ पार्टीका महामन्त्री गगन कुमार थापा र अहिले नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति एवम प्रदेशसभा सदस्य वीरन्द्र प्रसाद सिंहको नाम सिफारिस गरेको छ । कांग्रेस क्षेत्र नं. ३ को बैठक भने एक÷दुई दिनपछि मात्रै बस्ने नेपाली कांग्रेस सर्लाहीका जिल्ला सचिव निरज कार्कीले बताए।उनका अनुसार क्षेत्रीय सभापति बिरामी रहेकाले मंगलबार क्षेत्र नम्बर ३ मा बैठक बस्न नसकेको हो ।
क्षेत्रबाट आएको नामलाई आधार मानेर मंसिर २६ गते बस्ने जिल्ला कार्य समितिको बैठकले सबै क्षेत्रबाट उम्मेदवारको नाम सिफारिस गर्ने नेपाली कांग्रेस सर्लाहीले जनाएको छ ।मंगलबारको बैठकमा पार्टीको आसन्न महाधिवेशनका लागि क्रियाशील सदस्यता वितरण बारे समेत छलफल गर्ने भनिए पनि उम्मेदवार सिफारिसकै विषय नटुंगिएपछि खासै बहस हुन नपाएको नेपाली कांग्रेसका नेताहरुले बताएका छन् ।

सम्बन्धित समाचार