असुरक्षित बन्दै लालबन्दी : मोबाइल पसल सञ्चालकलाई लक्षित गरी गोली प्रहार

261 Shares

सर्लाहीको लालबन्दी नगरपालिका–७ मा मोबाइल पसल सञ्चालकलाई लक्षित गरि गोली प्रहार भएको छ।लालबन्दी नगरपालिका–७ स्थित लालबन्दी बजारमा सापकोटा मोवाईल पसल सञ्चालन गर्ने नवराज सापकोटा र उनका भाइ भुवन सापकोटा पसल बन्द गरेर घर फर्किँदा अज्ञात हँतियारधारी समुहले उनीहरुमाथि लालबन्दी नगरपालिका–७ स्थित डुमडुमे मन्दिर बाट आईडिएल बोर्डिङ स्कुलको पछाडिको बाटोमा लुटपट गर्ने उद्धेश्यले गोली प्रहार गरेका प्रहरीले जनाएको छ ।
पसल वन्द गरेर घर जाँदै गरेका सापकोटा दाजुभाईलाई बुधबार राती करिब सवा नौ बजे ती हँतियारधारी समुहले रोकी मोवाईल बनाउनु छ भन्दै अचानक गोली प्रहार गरेका भएपनि उनीहरु भागेर बच्न सफल भएका प्रहरीले जनाएको छ।मोटरसाईकलमा आएका तीन जना अज्ञात हँतियार धारी समूहले चार राउण्ड गोली चलाएकोमा तीन राउण्ड गोली पड्किएको र एक राउण्ड गोली नपड्किएको पाइएको छ।  
घटना भए लगतै ईलाका प्रहरी कार्यालय लालबन्दीको प्रहरी टोली घटनास्थलमा पुगि आवश्यक अनुसन्धान सुरु गरि सकेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। घटनापछि ईलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरी टोलीले घटनास्थलको निरीक्षण गरी प्रमाण संकलन गर्ने तथा गोली प्रहारमा संलग्न व्यक्तिहरूको खोजी तीव्र बनाइएको र घटनाको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
यता,व्यवसायीमाथि भएको गोली प्रहारको घटनापछि स्थानीय व्यापारीहरू त्रसित बनेका छन्। घटनाले बजार क्षेत्रको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ भने व्यापारीहरूले प्रभावकारी सुरक्षा व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।साँझको समयमा आफ्नो पसल बन्द गरी घर फर्कने क्रममा व्यवासायी माथि अज्ञात समूहले गोली प्रहार गर्नु व्यापारीहरु सुरक्षित छैनन् भन्ने प्रष्ट हुने र पछिल्लो समय लालबन्दी क्षेत्रमा अज्ञात समुहको त्रास बढ्दै गरेको उद्योग वाणिज्य संघ लालबन्दीले जनाएको छ ।
संघले लालबन्दी बजारका व्यवसायीहरूको सुरक्षाको माग गर्दै दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न आग्रह गरेको छ।पछिल्ला केही समययता चोरी,लुटपाट तथा व्यवसायीलाई लक्षित गर्ने घटनाप्रति चिन्ता व्यक्त गर्दै संघले बजार क्षेत्रमा नियमित प्रहरी गस्ती,सीसीटीभी निगरानी विस्तार र रातिको सुरक्षा व्यवस्था थप प्रभावकारी बनाउन माग गरेको छ ।
सार्वजनिक स्थानमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न सुरक्षा निकायले विशेष योजना बनाएर काम गर्नुपर्ने स्थानीय जानकारहरु बताउँछन् ।उनीहरूका अनुसार बजार क्षेत्रमा बढ्दो असुरक्षाको अनुभूतिले व्यापारिक वातावरण समेत प्रभावित हुन थालेको छ।प्रहरीले घटनाको वास्तविक कारण अनुसन्धानपछि मात्रै सार्वजनिक गरिने जनाएको छ। घटनामा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन कुनै कसर बाँकी नराखिने सुरक्षा निकायको भनाइ छ। यस घटनाले लालबन्दी क्षेत्रमा शान्ति सुरक्षा सुदृढ बनाउन राज्यका सम्बन्धित निकायले थप प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता पुनः उजागर गरेको छ।
पछिल्ला दिनहरुका यस्ता घटनाले केवल एक व्यक्ति,परिवार  वा व्यावसायीलाई मात्र नभई सिङ्गो समाजलाई असुरक्षित महसुस गराउँने र साँझको समयमा आफ्नै बजार र बस्तीमा नागरिकले डराएर हिँड्नुपर्ने अवस्था सिर्जना हुनु अत्यन्तै दुःखद भएको स्थानीय जानकारहरुले बताएका छन् ।स्थानीय युवाहरुले लालबन्दी सहित सर्लाहीका संवेदनशील क्षेत्रमा सुरक्षा व्यवस्था थप सुदृढ बनाइउन,नागरिकलाई अपुष्ट सूचना वा अफवाह नफैलाउन,आधिकारिक जानकारीको प्रतीक्षा गर्न पनि स्थानीय युवाहरुले माग गरेका छन् ।यता,पछिल्लो समय देशव्यापार देखि भन्सार छली चोरी तस्करीलाई सर्लाही प्रहरीले निकै कडाई गरेपछि प्रहरीको ध्यान अन्यन्त्र केन्द्रीत गरी आफ्नो धन्दा चलाउने गिरोहले बनाएको षडयन्त्र होकी भन्ने स्थानीयमा शंका पनि सृजना भएको छ ।

सम्बन्धित समाचार