इन्टरनेटको तार कि यमराजको पासो ? लालबन्दी बजारमा ज्यानै दाउमा

181 Shares

सर्लाहीको लालबन्दी  नगरपालिका स्थित लालबन्दी बजार क्षेत्रमा इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले जथाभावी तानेर छाडेका तारका कारण जनजीवन जोखिममा पर्न थालेको छ। विशेषगरी पूर्व–पश्चिम राजमार्ग आसपासका क्षेत्रमा बिजुलीका पोलबाट लत्रिएका इन्टरनेटका तारले सवारी साधन सञ्चालनमा प्रत्यक्ष असर पु¥याइरहेको छ भने कुनै पनि बेला ठूलो मानवीय क्षति हुने खतरा बढ्दै गएको छ ।
राजमार्ग किनारमा झुन्डिएका तथा सडकसम्म लत्रिएका तारका कारण मोटरसाइकल चालक सबैभन्दा बढी जोखिममा परेका छन्।स्थानीयका अनुसार यस्ता तारमा अल्झिएर यसअघि पनि पटक–पटक मोटरसाइकल दुर्घटना भइसकेका छन्।तर,सम्बन्धित निकायले समस्या समाधान तर्फ कुनै प्रभावकारी कदम नचालेपछि स्थानीयमा आक्रोश बढ्न थालेको छ।

WhatsApp Image 2026-07-10 at 8.02.42 AM.jpeg
लालबन्दी बजार,मुख्य चोक तथा राजमार्ग आसपासका क्षेत्रमा विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले एउटै बिजुलीको पोलमा जथाभावी तार तानेका छन्।प्रयोगमा नरहेका पुराना तार समेत हटाइएको छैन।कतिपय स्थानमा तार पोलबाट झुन्डिएर सडकसम्म पुगेका छन् भने केही ठाउँमा पैदल यात्रु नै झुक्नुपर्ने अवस्था सिर्जना भएको स्थानीयको गुनासो छ।
यस्तो गम्भीर विषयमा सम्बन्धित निकायको बेवास्ताका कारण लालबन्दी बजारमा ठूलो दुर्घटनाको खतरा बढ्दै गएको स्थानीय बताउँछन्।स्थानीयका अनुसार राजमार्गजस्तो अत्यधिक व्यस्त सडक क्षेत्रमा यस्ता लत्रिएका तार रहिरहनु अत्यन्तै लापरबाही हो।“धेरै पटक मोटरसाइकल चालक तारमा अल्झिएर लडेका घटना देखेका छौं।अहिले पनि कतिपय ठाउँमा तार सडकमै झुन्डिएका छन्।कुनै दिन ठूलो मानवीय क्षति भयो भने त्यसको जिम्मेवारी कसले लिने?”स्थानीयले बताए ।

WhatsApp Image 2026-07-10 at 8.02.42 AM (1).jpeg
उनीहरुका अनुसार नेपाल विद्युत प्राधिकरणका पोल प्रयोग गरे पनि इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले तार व्यवस्थापनमा कुनै जिम्मेवारी देखाएका छैनन्।पुराना तथा प्रयोग विहीन तार समेत हटाइएको छैन।जसका कारण बिजुलीका पोलहरू तारको जालोमा परिणत भएका छन्। बिजुलीका पोलमा यत्रतत्र अल्झिएका तारका कारण सडक दुर्घटनाको जोखिम बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी निरीक्षक झलक पौडेल शर्माले बताए।उनले विशेषगरी मोटरसाइकल चालक र पैदल यात्रु बढी जोखिममा रहेको उल्लेख गर्दै सम्बन्धित निकायले समयमै व्यवस्थापन गर्नुपर्ने आवश्यकता औंल्याए।
“बिजुलीका पोलमा जथाभावी छाडिएका तारले सडक सुरक्षामा प्रत्यक्ष असर पु¥याएको छ। लत्रिएका तारका कारण कुनै पनि बेला ठूलो दुर्घटना हुन सक्छ।सम्बन्धित निकायले यसलाई गम्भीर रूपमा लिएर तत्काल व्यवस्थापन गर्नुपर्छ।”जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी निरीक्षक शर्माले बताए ।
लालबन्दी  नगरपालिकाले पनि यस विषयमा अपेक्षित चासो नदिएको स्थानीयको आरोप छ। पटक–पटक ध्यानाकर्षण गराउँदा पनि लालबन्दी नगरपालिकाबाट प्रभावकारी पहल नभएको उनीहरूको भनाइ छ।जनप्रतिनिधिहरू विकास निर्माणका अन्य काममा सक्रिय देखिए पनि नागरिकको दैनिक सुरक्षासँग जोडिएको यति संवेदनशील विषयमा मौन बसेको भन्दै स्थानीय असन्तुष्ट बनेका छन्।
नेपाल विद्युत प्राधिकरण,इन्टरनेट सेवा प्रदायक कम्पनी,लालबन्दी नगरपालिका तथा सम्बन्धित नियामक निकायले संयुक्त रूपमा अनुगमन गरी अव्यवस्थित तार तत्काल हटाउनु पर्ने स्थानीय जानकारहरु बताउँछन् ।साथै नयाँ तार जडान गर्दा मापदण्ड पालना गर्न र प्रयोग विहीन तार अनिवार्य रूपमा हटाउने व्यवस्था लागू गर्नुपर्ने उनीहरूको जोड छ।
सडक सुरक्षा विज्ञहरूका अनुसार राजमार्ग क्षेत्रमा झुन्डिएका तारले मोटरसाइकल चालकको घाँटीमा बेरिने,सवारीको ह्यान्डलमा अल्झिने वा आकस्मिक ब्रेक लगाउँदा दुर्घटना निम्त्याउने जोखिम अत्यधिक हुन्छ।त्यसैले यस्तो समस्यालाई सामान्य रूपमा लिन नहुने उनीहरूको सुझाव छ।
अहिलेसम्म ठूलो मानवीय क्षति नभए पनि लालबन्दी बजारमा लत्रिएका इन्टरनेटका तारलाई समयमै व्यवस्थापन नगरिए आगामी दिनमा कुनै दुःखद घटना हुन सक्ने भन्दै स्थानीयले सम्बन्धित सबै निकायलाई तत्काल जिम्मेवार बन्न आग्रह गरेका छन्।यसका साथै ईन्टरनेट सेवा प्रदायक संस्थाहरुले विद्युतको पोल प्रयोग गरे बापत नेपाल विद्युत प्राधिकरणकलाई शुल्क तिर्नु पर्नेमा सो समेत नतिरेका समेत पाइएको छ ।

सम्बन्धित समाचार