सनातन हिन्दू मोर्चाद्वारा ३७ बुँदे माग सहित प्रधानमन्त्रीलाई ज्ञापन–पत्र

270 Shares

सनातन हिन्दू मोर्चाले नेपालको धार्मिक,सांस्कृतिक,सामाजिक तथा राष्ट्रिय हितसँग सम्बन्धित ३७ बुँदे माग राखी प्रमुख जिल्ला अधिकारीहरु मार्फत प्रधानमन्त्री समक्ष ज्ञापन–पत्र बुझाएको छ।मोर्चाले दुई दर्जन भन्दा बढी जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन–पत्र बुझाउँदै नेपालको मौलिक धार्मिक तथा सांस्कृतिक पहिचानको संरक्षण,सनातन हिन्दू राष्ट्र नेपाल कायम गर्न आवश्यक संवैधानिक तथा कानुनी पहल,धार्मिक तथा ऐतिहासिक तीर्थ स्थलको सुरक्षा तथा धार्मिक आस्थामाथि हुने अपमान जनक गतिविधिमाथि कानुनी कारबाही गर्नुपर्ने माग गरेको मोर्चाका केन्द्रीय प्रवक्ता शंखर पहाडीले जानकारी दिए ।
उनका अनुसार धर्म परिवर्तन नियन्त्रण,गौहत्या तथा गाई–गोरुको अवैध ओसार पसार नियन्त्रण,गुरुकुल शिक्षा तथा गौसेवा केन्द्रको विस्तार,राष्ट्रिय एकता र सामाजिक सद्भाव प्रवद्र्धन तथा युवालाई लागूपदार्थबाट जोगाउने अभियान सञ्चालन गर्नुपर्ने माग मोर्चाले अघि सारेको छ।मोर्चाले भ्रष्टाचार नियन्त्रण,धार्मिक गुरु तथा साधुसन्तको सुरक्षा,धार्मिक पर्यटन प्रवद्र्धन तथा बन्द उद्योग सञ्चालन गरी युवालाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नुपर्ने माग समेत राखेको मोर्चाकी केन्द्रीय उपाध्यक्ष शोभा प्याकुरेलले बताईन् ।
उनका अनुसार कमजोर आर्थिक अवस्था भएका नेपाली नागरिकका लागि राज्यस्तरबाट उपचारको व्यवस्था,धार्मिक तथा सांस्कृतिक सम्पत्तिको संरक्षण,मठ–मन्दिरका अतिक्रमित जग्गा फिर्ता गर्ने व्यवस्था तथा विद्यालय र कलेज तहमा संस्कृत पाठ्यक्रम पुनःसञ्चालन गर्नुपर्ने माग पनि ज्ञापन–पत्रमा समेटिएको छ।
हिमाल,पहाड,तराई तथा मधेसका नागरिकबीच राष्ट्रिय एकता कायम गर्न सामूहिक पूजापाठ तथा हवनजस्ता कार्यक्रम सञ्चालन गर्नुपर्ने तथा अन्तरधार्मिक वैवाहिक कार्यक्रम पूर्ण रूपमा बन्द गर्ने निर्णय लागू गर्नुपर्ने मागसमेत मोर्चाले राखेको मोर्चाका केन्द्रीय संयोजक सन्तोष पटेलले बताए ।उनका अनुसार विदेशी गैर–सरकारी संस्था (आईएनजीओ)का सम्बन्धमा कडा नीति अवलम्बन गर्नुपर्ने माग पनि ज्ञापन–पत्रमा उल्लेख छ।
विभिन्न जिल्लाबाट एकैसाथ जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री समक्ष ज्ञापन–पत्र बुझाउने कार्यक्रम सम्पन्न भएको संयोजक पटेलले बताए।उनका अनुसार ३७ बुँदे माग नेपालको धार्मिक तथा सांस्कृतिक पहिचान,राष्ट्रिय एकता,सामाजिक सद्भाव,नागरिक सुरक्षा, सुशासन, वातावरण संरक्षण तथा आर्थिक समृद्धिसँग सम्बन्धित छन्।
मोर्चाका केन्द्रीय तथा जिल्ला तहका पदाधिकारीहरु सहित अगुवाहरुको नेतृत्वमा करिब दुई दर्जन जिल्लाहरुमा ज्ञापन–पत्र बुझाउने काम गरिएको मोर्चाले जनाएको छ।ज्ञापन–पत्रमा उल्लेखित मागलाई सरकारले गम्भीरता पूर्वक अध्ययन गरी आवश्यक कानुनी तथा नीतिगत प्रक्रिया अघि बढाउनुपर्ने मोर्चाको माग छ।

सम्बन्धित समाचार