सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै सर्लाहीको हरिवन नगरपालिका–८ निवासी पोते परिवारले समुदायको सेवाका लागि एक शव वाहन सहयोग गरेका छन्।आर्थिक अभावका कारण आफन्तको शव ओसार पसार गर्न कठिनाइ भोग्दै आएका हरिवनबासीलाई राहत पुगोस भनेर आफ्ना दिवंगत पित्रृहरुको सम्झनामा शव वाहन सहयोग गरेको हरिवन उद्योग बाणिज्य संघका अध्यक्ष एवम शव वाहन सहयोगी दाता प्रयागराज पोतेले जानकारी दिए।
हजुर आमा धनमाया पोते,बुबाहरु हरिकृष्ण पोते,रामकृष्ण पोते,बालकृष्ण पोते,चरण कृष्ण पोते र पुर्णमाया पोतेका साथै पोते परिवारबाट विभिन्न समयमा मृत्युवरण गरेकाहरुको सम्झनामा सामाजिक उत्तरदायित्व बहन गर्दा आफ्नो सानो सहयोगले दुःखको घडीमा सर्वसाधारण नागरिकहरुलाई ठूलो राहत पुग्ने विश्वास लिईएको उनले बताए ।
ग्रामीण क्षेत्रका धेरै परिवारले आफ्ना आफन्तको शवलाई अस्पतालबाट घरसम्म ल्याउन सवारीसाधनको अभाव झेल्दै आएका कारण शव वाहनको आवश्यकता लामो समयदेखि महसुस हुँदै आएको र सोही आवश्यकतालाई परिपुर्ती गर्नका लागि करिब १० लाख बराबरको सहयोगमा शव बाहन सहयोग गरेको कृष्ण पोतेले बताए ।
उनका अनुसार पोते परिवारबाट करिब रु १० लाख बराबर र करिब दुइृ लाख बराबर स्थानीयले सहयोग गरेपछि शव वाहन खरिद गरिएको हो ।
पोते परिवारका प्रतिनिधिले समाजप्रतिको दायित्वलाई ध्यानमा राख्दै मानवीय सेवाभावका साथ शववाहन सहयोग खरिद गरेका र आगामी दिनमा पनि शिक्षा,स्वास्थ्य,सामाजिक सेवा तथा विपद्का क्षेत्रमा आवश्यक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
पोते परिवारको सहयोगलाई स्थानीय जनप्रतिनिधि,समाजसेवी तथा बुद्धिजीवीहरूले प्रशंसा गर्दै यसले अन्य सामाजिक तथा व्यावसायिक संस्थालाई पनि समाजसेवामा प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन्।उनीहरूले निजी क्षेत्र र समाजसेवी व्यक्तिहरूको सक्रिय सहभागिताले सामाजिक विकासमा सकारात्मक योगदान पुग्ने धारणा राखे।
स्थानीय बासिन्दाले शव वाहन सञ्चालनमा आएपछि आर्थिक अवस्था कमजोर भएका परिवारलाई विशेष राहत पुगेको बताएका छन्।यसअघि शव व्यवस्थापनका लागि टाढाबाट सवारी खोज्नुपर्ने,महँगो भाडा तिर्नुपर्ने तथा समयमै सेवा नपाउँदा थप समस्या झेल्नुपर्ने अवस्था रहेको उनीहरूको भनाइ छ।
शव वाहन सञ्चालन भएपछि सबै नागरिकले सेवा लिन सक्ने व्यवस्था मिलाइएको पोते परिवारले जनाएका छन्।सेवा प्रभावकारी,पारदर्शी र सहज रूपमा सञ्चालन गर्न स्थानीय तह तथा सरोकारवाला निकायसँग समन्वय गरिने पनि पोते परिवारले जनाएका छन्।समाजमा मानवीय सेवाको भावना विस्तार गर्दै दुःखमा परेका नागरिकको साथमा उभिने उद्देश्यले गरिएको पोते परिवारको यो सहयोगलाई स्थानीय स्तरमा सकारात्मक र उदाहरणीय सामाजिक कार्यका रूपमा हेरिएको छ।