सर्लाहीको बागमतीबाट सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकालाई जोड्ने कर्मैया–पिपलमाडी सडक भासिएर यातायात ठप्प भएको छ।मधेश प्रदेशलाई बागमती प्रदेशसँग जोड्ने छोटो दुरीको यो सडकको हरिहरपुरगढी गाउँपालिका–६ कौवादहमा सडक भासिएर यातायात आवागमन ठप्प भएको हो ।
सडक अवरुद्ध भएपछि हरिहरपुरगढी क्षेत्रबाट पुर्व पश्चीम महेन्द्र राजमार्गस्थित बागमतीसम्म दैनिक उपभोग्य वस्तु किनमेल,औषधी उपचार र अन्य प्रयोजनका लागि आउजाउ गर्ने सर्वसाधारण हेटौंडा वा सिन्धुली हुँदै ओहोर दोहोर गर्न बाध्य भएका छन् ।
कर्मैया–पिपलमाडी सडकमा सञ्चालन हुने बोलेरोसहित अन्य साना सवारी साधन थन्किएका छन्।सवारी साधन आवत जावत बन्द भएपछि कतिपय स्थानीय पैदल हिँडेरै आउजाउ गर्न बाध्य भएका छन् ।भारी वर्षाका कारण सडक भासिएको स्थानीयले बताएका छन् ।सडकको छेउमा बनाइएको नालाबाट मानिस वारपार गर्ने ठाउँ मात्र बाँकी रहेको र अन्य भाग भासिएको छ ।
अन्तर प्रदेशलाई जोड्ने यो सडक कुनै पनि तहको सरकारको प्राथमिकतामा नपर्दा नागरिकले बर्सेनि सास्ती खेप्नु परेको स्थानीय बताउँछन् ।गत वर्ष असोजमा पनि सर्लाहीतर्फको बागमती नगरपालिका–११ परेवा भीरमा पहिरो खस्दा एक साता भन्दा बढी समय यातायात ठप्प भएको थियो ।
बहुवर्षीय योजना अन्तर्गत कर्मैया–पिपलमाडी सडक कालोपत्रेका लागि ठेक्का लगाए पनि ठेकेदारले बद्मासी गरिदिँदा नागरिकले सास्ती खेप्नु परेको सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाले बताए ।उनका अनुसार कर्मैया–पिपलमाडी सडक निर्माणमा धेरै राजनीति हुँदा नागरिकले दुःख पाएका छन् ।बागमती प्रदेश सरकारले समेत यो सडकलाई खासै वास्ता नगर्दा समस्या परेको उनको गुनासो छ ।