विदेशी नागरिकको व्यवसायिक भिसा रद्ध गर्ने निर्णय,मरिणको मासु उद्योगका ८८ जना चिनियाँ पर्ने

199 Shares

सिन्धुलीको मरिण गाउँपालिका स्थित निर्माणाधीन अवस्थामा रहेको जियान फुड्स प्रा.लि अन्तर्गतको “नेपाल हिट प्रोसेस्ड बफेलो मिट एक्सपोर्ट टु चाइना प्रोजेक्ट”मा कार्यरत ८८ जना विदेशी नागरिकको व्यवसायिक भिसा रद्ध गरिएको छ।नेपालमा व्यापारिक तथा औद्योगिक क्षेत्रमा लगानी गर्ने अनुमति लिएर व्यवसायिक भिसामा रहेका उनीहरूलाई भिसा सम्बन्धी प्रचलित व्यवस्था विपरीत काम गरेको पाइएपछि अध्यागमन विभागले व्यवसायिक भिसा रद्ध गर्ने निर्णय गरेपछि उनीहरुको भिसा रद्ध हुने भएको हो ।भिसा रद्ध गरिएका विदेशी नागरिकमध्ये अधिकांश चिनियाँ नागरिक रहेका र उनीहरूलाई अब नेपालबाट निष्कासन गर्ने प्रक्रिया समेत अघि बढाइएको अध्यागमन विभागले जनाएको छ ।
सिन्धुलीको मरिणमा स्थापना हुँदै गरेको जियान फुड्स प्रा.लि अन्तर्गतको “नेपाल हिट प्रोसेस्ड बफेलो मिट एक्सपोर्ट टु चाइना प्रोजेक्ट”मा कार्यरत चिनिया नागरिकको भिसा रद्ध गरिएको हो।उक्त परियोजना छेन्दु ट्यान फुड लिमिटेडको आर्थिक साझेदारीमा निर्माण भइरहेको छ ।
गत साता जिल्ला अनुगमन समिति सिन्धुली र अध्यागमन विभागका प्रतिनिधि सहितको संयुक्त टोलीले उक्त मासु उद्योगको स्थलगत अनुगमन गरेको थियो। अनुगमनका क्रममा उद्योगमा कार्यरत पाँच सय एक जना चिनियाँ नागरिकसँग नेपालमा काम गर्न आवश्यक पर्ने “वर्किङ भिसा”नभएको पाइएको जिल्ला अनुगमन समिति सिन्धुलीले जनाएको छ ।
नेपालमा रोजगारी वा श्रमसम्बन्धी गतिविधि गर्न विदेशी नागरिकले सम्बन्धित कानुनी प्रक्रिया पूरा गरी कार्य अनुमति लिनुपर्ने व्यवस्था छ।तर अनुगमनका क्रममा ठूलो संख्यामा विदेशी कामदारले आवश्यक श्रम अनुमति नलिएको भेटिएपछि अध्यागमन निकायले अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएको हो ।
विभागले उद्योगमा कार्यरत विदेशी नागरिकको प्रवेश अनुमति,बसाइको उद्देश्य र काम गर्ने अवस्थाबारे अध्ययन गरेपछि भिसा रद्ध गर्ने निर्णय गरेको जनाएको छ। नेपालमा लगानीकर्ता वा व्यवसायिक प्रयोजनका लागि जारी गरिएको भिसा अन्य प्रकारको श्रम गतिविधिमा प्रयोग गर्न नमिल्ने भएकाले कारबाही प्रक्रिया अघि बढाइएको विभागले जनाएको छ । 
मरिणमा निर्माणाधीन उक्त मासु उद्योग भैंसीको प्रशोधित मासु चीन निर्यात गर्ने उद्देश्यसहित स्थापना गर्न लागिएको परियोजनाका रूपमा अघि बढाइएको छ।तर उद्योग सञ्चालनको तयारी कै क्रममा विदेशी कामदारको भिसा र श्रम अनुमति सम्बन्धी विषय विवादमा परेको हो ।अध्यागमन विभागले विदेशी नागरिकको गतिविधि,प्रवेश अनुमति र बसाइ सम्बन्धी कानुनी मापदण्ड पालना गराउन नियमित अनुगमनलाई निरन्तरता दिने जनाएको छ ।

सम्बन्धित समाचार