लगातारको पानीले सर्लाहीमा तरकारी उत्पादन गर्ने किसान तथा बिक्रीमा संलग्न व्यक्तिहरु प्रभावित बनेका छन्।लगातारको झरीले काठमाडौँ उपत्यकातर्फ तरकारी लिएर जाने मुख्य सडकहरु बन्द भएपछि सर्लाहीमा उत्पादन भएको तरकारी निकासीमा समस्या पैदा भएको हो ।वर्षाका कारण स्थानीय थोक बजारमा पनि तरकारी कम भित्रन थालेको व्यापारीहरुले बताएका छन् ।
काठमाडौँ जाने मुख्य राजमार्गहरु अवरुद्ध भएसँगै तरकारी निकासीमा चिन्ता थपिएको कृषि थोक बजार व्यवस्थापन समिति लालबन्दीका अध्यक्ष प्रमोदकुमार थपलियाले बताए ।उनका अनुसार किसानहरुले ल्याएर बिक्री गर्ने बोडी,घिरौला,काक्रो,गोलभेँडा,सिमीलगायत सिजन अनुसारको तरकारी काठमाडौँ उपत्यकासहित अन्य सहरहरुमा दैनिक आठदेखि १० ट्रकसम्म निकासी हुने गरेको थियो ।
एकदिन मात्रै पनि गाडी बन्द भए हरियो तरकारी बाटोमै सुकेर बर्बाद हुने अवस्था आउने व्यापारीहरुको गुनासो छ।कृषि थोक तरकारी बजार लालबन्दीमा किसानहरुले नै साइकल, मोटरसाइकल,टेम्पु लगायतका सवारी साधनहरुमा भिजेरै भए पनि कम परिमाणमा तरकारी बिक्रीका लागि बाध्य भएका छन् ।
वर्षा लम्बिए तरकारीको उत्पादनमा व्यापक गिरावट आउने किसानहरुको भनाइ छ।उत्पादन घट्ना साथ तरकारीको मुल्य बढ्ने भएकाले उपभोक्ता प्रभावित हुने व्यापारीहरुको गुनासो छ ।काठमाण्डौँ सहित देशभरका धेरै सहरहरुमा लालबन्दीबाट तरकारी जाने गरेको भएपनि भदौ १० गतेको वाढीपछि पटक पटक आएको बाढीका कारण धेरै सडकहरु अवरुद्ध भएकाले सवारी साधन आवत जावतमा सहज नभएपछि लालबन्दीका तरकारी व्यापारीहरु मारमा परेका छन् ।