मकवानपुरको भीमफेदी चिसापानी गढीमा भएको हायस गाडी दुर्घटनामा ज्यान गुमाएकाहरुका परिवारका सदस्य र सरोकारवाला निकाय विच तीन बुँदे सहमती भएपछि पीडित परिवारले शव बुझेर सर्लाही ल्याएका छन् ।
दुर्घटनाका दोषीलाई कारवाही गर्ने,अभिभावक गुमाएका बालबालिकाको शिक्षादीक्षा तथा पालनपोषणका लागि राज्यले जिम्मेवारी लिने र सवारीधनी तथा बीमा कम्पनिले प्रदान गर्ने क्षतिपूर्ति रकममा थप केही रकम प्रदान गर्ने सहमति भएपछि पीडित पक्षले शव बुझेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुर गाउँका १३ जनाको भर्खरै सवारी दुर्घटनामा परि ज्यान गएपछि गाउँमा रुवाबासी चलेको चक्रघट्टा गाउँपालिकाका अध्यक्ष कृष्णकुमार यादवले बताए । उनका अनुसार सहमतीपछि सर्लाही ल्याइएको १३ जनाको शवको सामूहिक अन्त्येष्टि गरिएको छ।हेटौँडा अस्पतालमा साँझ अबेर पोस्टमार्टम सकेर १३ जनाको शव हेटौँडा महानगरपालिकाको शव बहानमा राखी सुन्दरपुर ल्याइएको थियो ।
त्यस्तै,सवारी दुर्घटनामा परेर १३ जना गाउँपालिकावासीको मृत्यु भएपछि सर्लाहीको चक्रघट्टा गाउँपालिकाले शुक्रबार शोक बिदा दिएको छ भने प्रत्येक मृतकलाई रु ५० हजार अन्तिम संस्कार तथा काजकिरिया खर्च उपलब्ध गराउने निर्णय गरेको गाउँपालिका अध्यक्ष यादवले बताए ।गाउँपालिका अध्यक्ष यादवले एक सूचना जारी गर्दै १३ जना गाउँपालिकावासीको दुःखद् निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शुक्रबार शोक बिदा दिइएको बताएका छन् ।