सिन्धुलीको घ्याङ्लेख गाउँपालिका–२ र ३ अन्तर्गत पर्ने मरिण खोलामा पक्की पुल निर्माणको प्रक्रिया अगाडि बढाइएको छ।बागमती प्रदेश भौतिक पूर्वाधार विकास कार्यालय सिन्धुलीसँग समन्वय गरी पुल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने उद्देश्यले स्थलगत सर्वेक्षण सम्पन्न गरिएको पूर्वाधार विकास कार्यालय सिन्धुलीका प्रमुख लक्ष्मी प्रसाद सापकोटाले जानकारी दिए ।
घ्याङ्लेख गाउँपालिका –२ र ३ अन्तर्गत पर्ने मरिण खोलामा करिब ३० मिटर लम्बाईको र संगै नजिकै रहेको अर्काे खोलामा पनि पुल बनाउने की कलभर्ट बनाउने भन्ने विषयमा डिजाईन भई सकेपछि थाहा हुने कार्यालय प्रमुख सापकोटाले बताए ।
उक्त क्षेत्रमा पक्की पुल निर्माण भएपछि वर्षायाममा हुने आवत जावतको समस्या समाधान हुनुका साथै शिक्षा,स्वास्थ्य,कृषि तथा दैनिक जनजीवनमा सहजता आउने अपेक्षा गरिएको घ्याङ्लेख गाउँपालिकाका अध्यक्ष जगत बहादुर भोलनले बताए।उनका अनुसार बागमती प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठको पहलमा उत्त योजनाको बजेट व्यवस्थापन तथा समन्वय भएको हो ।
निवर्तमान मन्त्री श्रेष्ठको सक्रिय पहलले स्थानीय विकास र नागरिकको सुरक्षित तथा सहज आवत जावतमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएको घ्याङ्लेख गाउँपालिकाका उपाध्यक्ष शंकरमान घलानले बताए ।
उनका अनुसार उक्त पुल निर्माण भएपछि सिङ्गो घ्याङ्लेख गाउँपालिका सहित छिमेकी काभ्रे जिल्लाको महाभारत गाउँपालिकाका बासीलाई पनि ठूलो राहत पुग्ने छ ।
पुलको स्थलगत सर्वेक्षणमा घ्याङ्लेख गाउँपालिका–२ का वडा अध्यक्ष रोशन कुमार भोलन सहित पुर्वाधार विकास कार्यालय सिन्धुलीका प्राविधिक टोली तथा स्थानीय बासिन्दाहरूको सहभागीता रहेको थियो ।