सर्लाहीको नवलपुरमा सञ्चालित निजी स्वास्थ्य संस्थाहरुका विरुद्ध लालबन्दी नगरपालिकामा उजुरी

41 Shares

सर्लाहीको लालबन्दी नगरपालिका–१ स्थित नवलपुरमा सञ्चालित निजी स्वास्थ्य संस्थाहरुका विरुद्ध लालबन्दी नगरपालिकामा उजुरी परेको छ।नवलपुर क्षेत्रमा सञ्चालित निजी क्लिनिक, पोलिक्लिनिक तथा औषधी पसल (फार्मेसी) हरूका साथै अस्पतालहरु मापदण्ड विपरित सञचालन भई रहेका र क्षेत्राधिकार भन्दा बाहिर सञ्चालन भई नागरिहरुको स्वास्थ्यमा खेलवाड गरेका भन्दै स्थानीयले लालबन्दी नगरपालिकामा उजुरी दर्ता गराएका छन् ।
सेवाको गुणस्तर,दर्ता तथा नवीकरण प्रक्रिया,स्वास्थ्यकर्मीको योग्यताको विषयका साथै क्षेत्राधिकारको सवाल उठाउँदै नगरपालिकामा उजुरी दर्ता भएको लालबन्दी नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।उजुरीकर्ताहरूले नवलपुरमा सञ्चालनमा रहेका कतिपय निजी स्वास्थ्य संस्थाले प्रचलित स्वास्थ्य तथा औषधी सम्बन्धी कानुनी मापदण्ड पूरा नगरेका साथै अनाधिकृत रुपमा ल्याब,एक्स–रे,भिडियो एक्स–रे र शल्यक्रिया सेवा सञ्चालन गरेका उल्लेख गरेका छन् ।
विशेषगरी जनस्वास्थ्य सेवा ऐन र औषधी ऐनले तोकेका न्यूनतम भौतिक पूर्वाधार,प्रयोगशाला तथा उपचार सेवाको मापदण्ड, दर्ता प्रमाणपत्रको स्पष्ट प्रदर्शन र सम्बन्धित विषयमा इजाजत प्राप्त जनशक्तिबाट सेवा प्रवाह भए–नभएको,आवश्यक योग्यता,विशेषज्ञता तथा कानुनी अनुमति बिना अनाधिकृत रुपमा ल्याब,एक्स–रे,भिडियो एक्स–रे र शल्यक्रिया सेवा र औषधी उपचार समेत भई रहेको व्यापक गुनासो पछि स्थानीयले नगरपालिकामा उजुरी  दिएका हुन ।
कतिपय स्थानमा चिकित्सकको नियमित उपस्थिति बिना नै जटिल प्रकृतिका बिरामीको उपचार तथा औषधी वितरण हुने गरेको साथै आयुर्वेदिक औषधाालयहरुले समेत एलोप्याथिक औषधी र ल्याब समेत सञ्चालन गर्ने गरेका गुनासो स्थानीय स्तरमा सुनिन थालेपछि उजुरी दर्ता गरिएको उजुरीकर्ताहरुले बताएका छन् ।
नवलपुर सर्लाहीको एक व्यस्त व्यापारिक तथा आवागमनको केन्द्र भएकाले यहाँ दैनिक सयौँ सर्वसाधारण स्वास्थ्य सेवा लिन आउने गर्दछन्।राजमार्ग छेउछाउका बस्तीसँगै छिमेकी पालिका तथा ग्रामीण क्षेत्रबाट समेत सहज पहुँचका कारण बिरामीहरूको चाप रहने यस क्षेत्रमा निजी स्वास्थ्य संस्थाहरूको भूमिका महत्वपूर्ण मानिने भएपनि निजी स्वास्थ्य संस्थाहरुलाई कमाउने धन्दाको रुपमा सञ्चालन गरिँदा नागरिकहरुको जीवन नै खतरामा परेको भन्दै तत्काल आवश्यक छानविन गरी संग्लग्नहरुलाई काबाृही गर्न उजुरीमा माग गरिएको छ। 
उजुरी प्राप्त भएपछि लालबन्दी नगरपालिकाले यस विषयलाई गम्भीरतापूर्वक लिएको जनाएको छ।नगरपालिकाका अनुसार प्राप्त उजुरीका आधारमा नवलपुर क्षेत्रका निजी क्लिनिक तथा स्वास्थ्य संस्थाहरूको कागजात,दर्ता तथा अनुमति अवस्था र भौतिक मापदण्डबारे छानबिन तथा अनुगमन प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको लालबन्दी नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।स्थानीय तहको अधिकार क्षेत्रभित्र पर्ने स्वास्थ्य संस्थाहरूको नियमन र अनुगमनलाई व्यवस्थित बनाउँदै नियम विपरीत सञ्चालित संस्था देखिए कानुन बमोजिम आवश्यक कारबाही वा सुधारको निर्देशन दिइने नगरपालिकाले जनाएको छ।
यता निजी स्वास्थ्य क्षेत्रका सञ्चालकहरूले भने कानुनी प्रक्रिया पूरा गरेर सेवा दिइरहेका संस्थाहरूलाई हतोत्साहित नगरी स्पष्ट मापदण्ड र सचेतनाका साथ अनुगमन गरिनुपर्ने धारणा राख्दै आएका छन्।दर्ता,नवीकरण र सरसफाइ तथा सेवा व्यवस्थापनमा देखिएका प्राविधिक वा व्यवहारिक कमजोरी सच्याउन संवाद र नियमित अनुगमन आवश्यक रहेको सरोकारवालाहरू बताउँछन्।
नागरिकको स्वास्थ्य अधिकारको संरक्षण र गुणस्तरीय सेवाको सुनिश्चितताका लागि लालबन्दी नगरपालिकामा परेको यो उजुरीले नवलपुर क्षेत्रको निजी स्वास्थ्य सेवाको पारदर्शिता र जवाफदेहितामाथि नयाँ बहस सुरु गरेको छ।आगामी दिनमा नगरपालिकाले गर्ने अनुगमन र त्यसको नतिजालाई स्थानीय बासिन्दाले चासोका साथ हेरेका छन्। तर केही समय पहिला भएको अनुमगनमा पनि धेरैको मापदण्ड नपुगेको भएपनि ती निजी स्वास्थ्य संस्थाहरु हाल सम्मपनि खुलेआम रुपमा सञ्चालन भई रहेका छन् ।
औषधी ऐन,२०३५ मा के छ व्यवस्था
कुनै पनि औषधी बिक्री वितरण गर्नुअघि औषधी व्यवस्था विभागमा दर्ता गरी प्रमाण–पत्र लिनुपर्ने व्यवस्था छ।जनसुरक्षित,असरयुक्त र गुणयुक्त नभएका औषधी बजारमा आएमा फिर्ता लिन वा रोक्का गर्न सकिने प्रावधान छ।तोकिएका औषधीहरू अधिकार प्राप्त चिकित्सकको प्रेस्क्रिप्सन बिना बिक्री वितरण गर्न नहुने व्यवस्था छ।त्यस्ता औषधी फर्मासिस्ट,फार्मेसी सहायक वा मान्यता प्राप्त व्यवसायी आफैँले वा निजको उपस्थितिमा मात्र बिक्री वितरण गर्नुपर्ने नियम छ।
कसैले पनि औषधीको अनुचित प्रयोग वा दुरुपयोग गर्न नहुने स्पष्ट व्यवस्था छ।नियमविपरीत बिक्री वितरण गरे गराएमा त्यसलाई औषधीको अनुचित प्रयोग वा दुरुपयोग मानिने प्रावधान छ।औषधीमा मिसावट गर्न,अरू थोकलाई औषधी भनी बेच्न तथा म्याद नाघेको औषधी बिक्री वितरण गर्न पूर्ण रूपमा रोक लगाइएको छ।तोकिएका लागू तथा विषालु औषधी सुरक्षित राख्नुपर्ने, बिक्री वितरणको अभिलेख राख्नुपर्ने र चिकित्सकको प्रेस्क्रिप्सन संलग्न गरी राख्नुपर्ने व्यवस्था छ।ऐन विपरीत कार्य भएमा निरीक्षकले औषधी सिलबन्दी वा रोक्का गर्न सक्ने तथा व्यवस्थापकले औषधी जफत गर्ने,अनुज्ञा–पत्र वा प्रमाण–पत्र निलम्बन गर्ने र कसुर अनुसार कैद तथा जरिवाना गर्न सक्ने व्यवस्था छ।
जनस्वास्थ्य सेवा ऐन,२०७५ मा के छ व्यवस्था
प्रत्येक नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने राज्यको दायित्व तोकिएको छ। साथै,प्रत्येक स्वास्थ्य संस्थाले योग्य सेवा प्रदायक बाट मात्र स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने व्यवस्था छ।प्रत्येक स्वास्थ्य संस्था तथा सेवा प्रदायकले औषधीको समुचित प्रयोग तथा प्रवर्धन गर्ने गरी स्तरीय उपचार पद्धति को पालना गर्नुपर्ने व्यवस्था छ।चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले औषधी सिफारिस गर्दा जेनेरिक नाम(औषधीको वास्तविक नाम)लेख्नुपर्ने तथा औषधी बिक्रेताले गुणस्तर कायम रहने गरी भण्डारण र बिक्री वितरणको व्यवस्था मिलाउनुपर्ने प्रावधान छ।
 निजी,गैर–सरकारी वा सहकारी स्वास्थ्य संस्थाले तोकिए बमोजिम इजाजत–पत्र लिएर मात्र सेवा सञ्चालन गर्नुपर्ने र मन्त्रालयले तोकेका मापदण्ड पूरा गर्नुपर्ने व्यवस्था छ।स्वास्थ्य संस्था तथा सेवा प्रदायकले मापदण्ड अनुसार गुणस्तर कायम गरे नगरेको विषयमा नियमन, निरीक्षण, अनुगमन तथा मूल्यांकन गर्न सकिने र जनस्वास्थ्यमा असर पर्ने देखिएमा सञ्चालन स्वीकृति वा अनुमतिमा आवश्यक कारबाही गर्न सकिने व्यवस्था छ।

सम्बन्धित समाचार