सर्लाहीको मलंगवा नगरपालिका–११ स्थित गम्हरीयाबाट सशस्त्र प्रहरीले अन्दाजी सवा एक लाख बराबरको भन्सार छलीको कपडा सहित एउटा अटो नियन्त्रणमा लिएको छ ।सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म मलंगवाबाट मोवाईल गस्ती खटिएको सशस्त्र प्रहरी टोलीले छिमेकी देश भारतबाट भन्सार छली लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा ज १ ह ४१०९ नम्बरको अटो सहित विभिन्न किसिमका कपडाहरु गरी अन्दाजी कुल रु पाँच लाख तीन हजार तीन सय २० बराबरको नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म मलंगवा गुल्मका गुल्मपति एवम् सशस्त्र प्रहरी नायव उपरिक्षक विष्णु अधिकारीले जानकारी दिए । उनका अनुसार ४१०९ नम्बरको अटोमा अन्दाजी रु एक लाख २३ हजार तीन सय २० बराबरको विभिन्न किसिमका कपडाहरु राखी ल्याउँदै गरेको अवस्थामा नियन्त्रणमा लिईएको हो ।
नियन्त्रणमा लिइएको अटोको मूल्य अन्दाजी रू तीन लाख ८० हजार र विभिन्न किसिमका लक्ता कपडा अन्दाजी मूल्य रु एक लाख २३ हजार तीन सय २० गरी कुल रु पाँच लाख तीन हजार तीन सय २० बराबरको रहेको र आवश्यक कार्बाहीका लागि सर्लाही भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरी नायव उपरिक्षक अधिकारीले बताए ।
त्यसैगरी,मलंगवा नगरपालिका–९ पिपलबोट स्थित नेपाल भारत सीमा क्षेत्र नजिकैबाट ६० हजार भन्दा बढीको भन्सार छलीका चप्पल सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाल भारत सीमानाका स्थित मलंगवा नगरपालिका–९ स्थित पिपलबोट स्थित नेपाल भारत सीमा क्षेत्रबाट गुल्मपति सशस्त्र प्रहरी नायव उपरिक्षक अधिकारीको कमाण्डमा खटिएको सशस्त्र प्रहरीको टोलीले रु ६० हजार दुई सय ८० बराबरको चप्पल नियन्त्रणमा लिएर सर्लाही भन्सार कार्यालय बुझाईएको छ ।
यसबाट भारतसँग खुला सीमानाका जोडिएको फाइदा उठाउँदै भन्सार छली गरी अवैध सामान भित्र्याउने तस्कर गिरोहको सक्रियता सर्लाहीमा पुनः उदाङ्गो भएको छ।सशस्त्र प्रहरी बलको सीमा सुरक्षा गुल्म मलंगवाबाट खटिएको टोलीले फरक–फरक ठाउँबाट भन्सार छलीका अटो, लत्ताकपडा,चप्पल तथा विभिन्न सामानहरु बरामद गरेपछि सर्लाहीका सीमानाकाहरुबाट तस्करी भई रहेको रहस्य समेत उदाङ्गो पारेको जानकारहरु बताउँछन् ।
खुला सीमानाकामा सुरक्षाकर्मीको गस्ती र निगरानी भइरहेकै बेला सीमानाकाबाट नेपाली बजार सम्म भन्सार छलीका सामानहरु आई पुग्दा सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीहरु माथि प्रश्न खडा भएको छ ।एकातिर राज्यलाई तिर्नुपर्ने भन्सार राजस्व गुम्ने र अर्कोतिर अवैध रूपमा भित्रिने सामाग्रीले वैध व्यापार–व्यवसायलाई समेत धराशायी बनाउने अवस्था देखिएको जानकारहरु बताउँछन् ।उनीहरुका अनुसार सीमावर्ती क्षेत्रमा भन्सार छली नियन्त्रणका लागि सुरक्षा जाँचलाई अझै कडा,निरन्तर र निर्मम बनाउनुपर्ने आवश्यकता छ।