सर्लाहीको हरिवन नगरपालिकाका नगर प्रमुख प्रमुख र उप प्रमुखले चढ्ने सरकारी सवारी साधनकोे साँचो(चाबी)वडाध्यक्षहरुले नियन्त्रणमा लिएका छन् गएको असारमै नगरसभाबाट पारित हुनुपर्ने आर्थिक वर्ष २०८१।०८२ को बजेट नयाँ आर्थिक वर्ष सुरु भएको दुई महिना बितिसक्दा पनि पारित हुन नसकेपछि असन्तुष्ट रहेका हरिवन नगरपालिकाका ११ वटै वडाका वडाध्यक्षहरुले नगर प्रमुख रमेश बुढाथोकी(कमल)र उपप्रमुख हरिमाया घलानले चढ्ने सरकारी सवारी साधनको साँचो(चाबी) नियन्त्रणमा लिएका हुन्् ।
नगर प्रमुख बुढाथोकीले चढ्ने हरिवन नगरपालिकाको प्रदेश–२–०३–००१ झ ००२० नम्बरको सरकारी स्करपियो र उप प्रमुख घलानले चढ्ने ना १ झ १५७१ नम्वरको टाटासुमोको साँचो(चाबी) नियन्त्रणमा लिएर प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र सापकोटालाई बुझाइएको हरिवन नगरपालिका ११,का वडाध्यक्ष शेष महबुब रेजाले जानकारी दिए। उनका अनुसार हरिवन नगरपालिकाका ११ वटै वडाका वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले एक साताअघि नै तत्काल बजेट पारित हुने वातावरण मिलाउन भन्दै नगर प्रमुख बुढाथोकीलाई ज्ञापन–पत्र बुझाएका थिए ।
मुख्य चाडपर्वको मुखमा बजेट पारित नभएर सामाजिक सुरक्षा भक्ता,तलब र नगरका विकास विकास निर्माण काम लगायत सबै क्षेत्र ठप्प हुने अवस्था आएपछि बाध्य भइ नगरप्रमुख बुढाथोकी र उपप्रमुख घलान चढ्ने गाडीको साँचो(चाबी)नियन्त्रणमा लिएर पहिलो चरणको आन्दोलन सुरुवात गरिएको हरिवन नगरपालिका २,का वडाध्यक्ष अर्जुन योञ्जनले बताए।उनले नगर प्रमुख बुढाथोकीका कारण नगरपालिका नै डामाडोलको स्थिति सिर्जना भएको समेत बताए ।
हरिवन नगरपालिका ४, का वडाध्यक्ष केशव कुमार थापाले तत्काल नगरसभा बोलाएर बजेट पारित हुने अवस्था सिर्जना गर्न दबाब दिने उद्देश्यले नगर प्रमुख बुढाथोकी र उपप्रमुख घलानले प्रयोग गर्ने सरकारी सवारी साधनको साँचो(चाबी) नियन्त्रणमा लिइएको बताए।वडाध्यक्षहरुले आफू चढ्ने सरकारी सवारी साधनको साँचो(चाबी)नियन्त्रणमा लिएपछि नगर प्रमुख बुढाथोकीले वडाध्यक्षहरुसँग छलफल समेत गरेका छन् ।
सो छलफल बिनानिष्कर्ष टुङ्गिएको हरिवन नगरपालिका ३, का वडाध्यक्ष दिपमान लोप्चनले जानकारी दिए।हरिवन नगरपालिकामा नेकपा(माओवादी केन्द्र)बाट एक्लो जनप्रतिनिधि रहेका नगर प्रमुख बुढाथोकी र अन्य पार्टीका वडाध्यक्षबिच बजेट बाँडफाँडको विषयमा कुरा मिल्न नसक्दा समस्या उत्पन्न भएको छ ।नगरप्रमुख बुढाथोकीले सहमतीका लागि आफूले वडाध्यक्षहरुसँग निरन्तर छलफल गरिरहेको बताए।वडाध्यक्षहरुले आफूले भनेकै कुरा हुनुपर्छ भनिरहेका कारण यो अवस्था आएको नगर प्रमुख बुढाथोकीको भनाइ छ ।
हरिवन नगरपालिकामा गत वर्ष पनि नगर प्रमुख बुढाथोकी र वडाध्यक्षहरुबिच बजेट विनियोजनका विषयमा विवाद हुँदा दशैँको मुखमा आएर मात्रै नगरसभाबाट बजेट पारित भएको थियो ।यो वर्ष दशैँ सुरु हुनै लाग्दा बजेट नै अनिश्चित बनेपछि सामाजिक सुरक्षा भत्ता खाने ज्येष्ठ नागरिक,अपाङ्गता,एकल महिला,बालबालिका र तलब बुझ्ने कर्माचारीहरुका साथै शिक्षकहरु लगायत आम नगरवासी निराश बनेका छन् ।नगर प्रमुख बुढाथोकीको मौनताका कारण हरिवन नगरपालिकाले खरिद गरेको कार पनि सरकारी नम्बर प्लेटको हुन नसक्दा करिब छ महिनादेखि थन्कीएको स्थानीयको आरोप छ ।