सर्लाहीका तीन मध्य दुई क्याम्पसमा गठवन्धन र एमालेबीच स्ववियु चुनाव हुने

983 Shares

दुर्गा कुमारी अधिकारी 
सर्लाहीका तीन मध्य दुईवटा क्याम्पसमा आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन सत्ताधारी गठवन्धन र विपक्षी नेकपा एमालेको विद्यार्थी संगठनबीच प्रतिस्पर्धा हुने भएको छ ।
सत्तागठवन्धनका विद्यार्थी संगठनले संयुक्त रुपमा र नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले एकल रुपमा उम्मेदवारी दर्ता गराए पछि जिल्लाका दुईवटा क्याम्पसमा आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन सत्ताधारी गठवन्धन र विपक्षी नेकपा एमालेको विद्यार्थी संगठनबीच प्रतिस्पर्धा हुने भएको हो ।
लालबन्दी नगरपालिका ९ स्थित रहेको जनज्योति बहुमुखी क्याम्पसमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ,नेकपा(माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी)र नेकपा (एकीकृत समाजवादी) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(एस)का  विद्यार्थीहरुले संयुक्त रुपमा उम्मेदवारी दिएका छन् ।
यो गठवन्धनबाट सभापतिमा नेविसंघका अभिमन्यु चौधरी,सचिवमा अखिल क्रान्तिकारीकी अनिता बुढाथोकी र कोषाध्यक्षमा समाजवादीका एलोज खड्काको उम्मेदवारी परेको छ । नेविसंघकै चुनाव चिन्हबाट चुनाव लड्ने गरी संयुक्त रुपमा मनोनयन दर्ता गरिएको जनज्योति क्याम्पसका पूर्व स्ववियु सभापति योगराज देवकोटा (युवराज) ले जानकारी दिनुभयो ।
यस्तै,जनज्योतिमा नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको तर्फबाट सभापतिमा गान्दिप बराल,सचिवमा रेणु पोखरेल र कोषाध्यक्षमा विमलेश चौधरीको उम्मेदवारी परेको छ ।यस्तै, जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियनबाट कोषाध्यक्षमा ज्ञानेश्वर मण्डल खत्वेको उम्मेदवारी परेको छ ।क्याम्पसमा नौ सय ९६ जना मतदाता अर्थात् भर्ना भएका विद्यार्थी रहेका जनज्योति बुहुमुखी क्याम्पसको स्ववियु निर्वाचन समितिका संयोजक धर्मेन्द्र अधिकारीले बताउनुभयो ।
यता,हरिवन नगरपालिका १० मा रहेको चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पस सुखेपोखरीमा पनि सत्तागठवन्धन र एमालेको विद्यार्थी संगठनबीच प्रतिस्पर्धा हुने भएको छ । सत्ता गठवन्धनबाट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी)को ब्यानरमा सभापतिका लागि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी)का प्रेमराज दाहाल, सचिवमा नेविसंघका दिलीपबहादुर बस्नेत र कोषाध्यक्षमा समाजवादीका सन्जय कुमार महतोको उम्मेदवारी परेको छ ।
सुखेपोखरीमा पनि एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले एकल प्रतिस्पर्धा गर्ने भएको छ । अनेरास्ववियुबाट सभापतिमा सन्दीप थापा,सचिवमा हिमाल घिमिरे र कोषाध्यक्षमा चन्दाकुमारी महतोले उम्मेदवारी दर्ता गराउनु भएको छ । सुखेपोखरीमा नौ सय ७० जना मतदाता अर्थात भर्ना भएका विद्यार्थी रहेका स्ववियु निर्वाचन समितिका संयोजक हरिलाल मैनालीले जानकारी दिनुभयो ।
भने,जिल्ला सदरमुकाम मलंगवामा रहेको सर्लाही क्याम्पसमा भने फागुन ३० गते मात्रै उम्मेदवारको मनोनयन दर्ता हुने भएको छ । सर्लाही क्याम्पसको स्ववियु निर्वाचन समितिका संयोजक कृपानाथ झाले ३० गते मनोनयन दर्ता गरी चैत ५ गते नै चुनाव गराउने सहमती भएको जानकारी दिनुभयो ।
चैत ५ गते हुने स्ववियु निर्वाचनबाट सभापति,सचिव र कोषाध्यक्ष गरी तीन जना पदाधिकारी र छ जना सदस्य प्रत्यक्ष निर्वाचित हुने छन् ।बाँकी छ जना सदस्य समानुपातिक मतको आधारमा टुंग्याइने छ । कार्य समितिको बैठक बसेर समानुपातिकबाट निर्वाचित भएर आएका सदस्यमध्ये बाटै एक जना उपसभापति र एक जना सहसचिव चयन गर्ने व्यावस्था रहेको छ ।

सम्बन्धित समाचार