सर्लाहीको बाँके जङ्गलमा शनिबार राती रात्रीबस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । पुर्व पश्चिम लाेकमार्ग स्थित बाँके जङ्गलमा भएको दुर्घटनामा १३ जना घाइते भएका प्रहरीले जनाएको छ । सिरहाको बरियारपट्टीबाट काठमाडौंका लागि छुटेको ना ७ ख ७५३ नम्वरको रात्रीबस शनिबार राती करिब ९ बजे ईश्वरपुर नगरपालिका १२, बाँके जङ्गलस्थित लाेकमार्गमा ना २९ प ४४९८ नम्वरको मोटरसाइकल आपसमा ठोक्किएकाे इलाका प्रहरी कार्यालय केशरगन्ज,बयलवासले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकलमा सवार ईश्वरपुर नगरपालिका १२, घारिबथानका अन्दाजी २७ वर्षीय भक्तबहादुर खड्काको घटनास्थमै ज्यान भएको इलाका प्रहरी कार्यालय केशरगञ्जका प्रहरी प्रमुख प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले जानकारी दिनुभयो । उहाँका अनुसार मृतक खड्काको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलङ्गवा सर्लाही पठाइएको छ ।
मोटरसाइकलका चालक घारिबथानकै अन्दाजी २६ वर्षीय अरुण खड्का गम्भीर घाइते भएका छन् । खड्कालाई लालबन्दीमा उपचार सम्भव हुन नसकेपछि वीरगञ्ज पठाईएकाे प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मोटरसाइकलसँग ठोक्किएपछि बस पल्टिदा बसमा सवार यात्रुहरु घाईते भएका हुन । दुर्घटनामा बसमा सवार ४० जना यात्रुमध्ये १२ जना घाइते भएका छन् । घाइते सात जना उपचार पश्चात घर फर्किएका छन् भने अन्य चार जनाको लालबन्दीमै उपचार भईरहेको र एक जनालाई थप उपचारका लागि सिरहा पठाईएकाे प्रहरीले जनाएको छ ।
दुर्घटनापछि बसका चालक फरार भएका र उनकाे खाेजि कार्य जारि रहेकाे छ । दुर्घटनामा संग्लग्न सवारीसाधन प्रहरीको नियन्त्रणमा रहेकाे छ ।