बागमती सेवा समाजले सञ्चालन गरेको जीवन उपयोगी सीप तालिम भोली सकिने

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१०-१८ गते   १५७७ पटक हेरिएको

सर्लाहीको लालबन्दीमा १० दिने रुपान्तरण जीवन उपयोगी तथा आत्मरक्षा सिप मुलक तालिम सञ्चालन भईरहेको छ । किशोर किशोरीहरु भविष्यका कर्णधार मात्र होइनन् वर्तमानका साझेदार पनि हुन् भन्ने धारणा सहित किशोर किशोरीको समग्र विकासका लागि नगरपालिकामा १० दिने रुपान्तरण जीवन उपयोगी तथा आत्मरक्षा सिप मुलक तालिम शुरु भएको हो  ।
बागमती सेवा समाजको आयोजना तथा वल्र्ड भिजन इन्टरनेशनल नेपालको सहयोगमा संचालन भएको तालिममा पर्सा गाउँपालिका र हरिपुर्वा नगरपालिकाका २० जना किशोर किशोरीहरुको सहभागिता रहेको आयोजकले जनाएको छ । तालिममा रुपान्तरण तालिम सहजीकरण पुस्तिकाको माध्यमबाट सिकाउने र सिक्ने कार्य संचालन भइरहेको बागमती सेवा समाज नेपालका परियोजनाका कुमार भण्डारीले बताउनु भयो । उहाँका अनुसार तालिम पश्चात किशोर किशोरीहरुले आफ्नो स्थानीय स्तरमा रहेका जोखिम तथा सिमान्तकृत बालबालिकालाई प्रत्येक हप्ता एक एक वटा साथी सहजकर्ता बनी रुपान्तरण कक्षा संचालन गर्नेछन् ।  आगामी ६ महिनासम्ममा करिब २ सय जना बालबालिकालाई साथी सहजकर्ताहरुले जीवन उपयोगी तथा आत्मरक्षाका सिपहरु सिकाउने कार्यक्रम रहेको भण्डारीले बताउनु भयो । 
तालिमले आफ्नो जीवनमा परिवर्तन आएको सहभागी पिंकी शर्माले बताउनु भयो । यसैगरी तालिमले साँच्चिकै रुपान्तरण गरेको महसुस भइरहेको अर्की सहभागी अन्जु यादवले बताउनु भयो । पर्सा गाउँपालिका र हरिपूर्वा नगरपालिकाको समन्वयमा माघ ११ गतेदेखि संचालन भइरहेको तालिममा गल्स किक, काठमाडौंका निरज न्यौपाने र फुल कुमारी मगरले सहजिकरण गरिरहेका छन् । तालिममा आत्मजागरण, किशोरावस्था, अधिकार र कर्तव्य, लैंगिक समानता, लैंगिक हिंसा, यौन तथा प्रजनन् स्वास्थ्य आदि विषयमा छलफल भइरहेको प्रशिक्षक मगरले जानकारी दिनु भयो । माघ २० गते सकिने तालिमको लालबन्दी नगरपालिका ६ मा बागमती सेवा समाजले आयोजना गरेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech