जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीले निजी तथा सार्वजनिक सवारी साधनका झ्यालमा कालो प्लास्टिक टाँसेर सिसा अपारदर्शी बनाउने र अनुमति बिना सवारीको स्वरूप परिवर्तन गर्ने कार्यमाथि कडा निगरानी बढाउँदै कारबाही गर्ने चेतावनी दिएको छ ।पछिल्लो समय जिल्लाका विभिन्न स्थानमा ट्राफिक नियमको उल्लंघन गर्ने र सवारीसाधनको मौलिक स्वरूप नै परिवर्तन गरेर गुडाउने गतिविधि बढेको पाइएकाले ट्राफिक प्रहरीले झ्यालमा कालो प्लास्टिक टाँसेर सिसा अपारदर्शी बनाउने र अनुमति बिना सवारीको स्वरूप परिवर्तन गर्ने कार्यमाथि कडा निगरानी बढाउँदै कारबाही गर्ने चेतावनी दिएको हो ।
आफ्नै खुसीले सवारीसाधनका सिसामा कालो प्लास्टिक (टिन्टेन ग्लास)टाँस्ने र सवारीको मौलिक बनावटमा परिवर्तन गर्ने कार्य तत्काल रोक्न कार्यालयले एक सूचना जारी गर्दै अनुरोध गरेको छ ।साथै,यसअघि नै सिसा कालो बनाइसकेका वा स्वरूप परिवर्तन गरिसकेका सवारी साधनहरूबाट त्यस्ता सामाग्री तत्काल हटाउन सवारी धनी,यातायात व्यवसायी तथा चालकहरूलाई कडा निर्देशन दिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीका प्रमुख एवम प्रहरी निरीक्षक झकल पौडेल शर्माले बताए ।

उनका अनुसार सवारी तथा यातायात व्यवस्था ऐन,२०४९ को दफा ३९ तथा सवारी तथा यातायात व्यवस्था नियमावली,२०५४ को नियम १४ बमोजिम सम्बन्धित निकायबाट आधिकारिक स्वीकृति नलिई सवारी साधनको रङ परिवर्तन गर्ने,सिट सङ्ख्या थपघट गर्ने, बाहिरी गुड्ने स्वरूप बदल्ने,इन्जिन वा चेसिस परिवर्तन हुने गरी कुनै पनि किसिमको हेरफेर गर्न पाइँदैन ।कानुनी व्यवस्थाको अवज्ञा गर्दै कतिपय सवारी साधनले कानुन विपरीत मनपरी ढंगले कार्य गरिरहेको पाइएकाले अब सडक चेकजाँचका क्रममा यस्ता गल्ती भेटिएमा सोही ऐन र नियम बमोजिम कडा कानुनी कारबाहीको दायरामा ल्याइने उनले बताए ।
सवारी साधनको झ्यालको सिसा कालो बनाउँदा भित्र भइरहेका गतिविधि बाहिरबाट नदेखिने भएकाले यसले आपराधिक क्रियाकलापलाई प्रश्रय दिने खतरा रहने साथै रातको समयमा वा एकान्त सडकमा यस्ता सवारी साधनभित्र गैरकानुनी कार्य हुन सक्ने र सुरक्षा संवेदनशीलतामा गम्भीर असर पर्ने भएकाले कानून विपरितका गतिविधिहरु नगर्न अनुराधे गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीले जनाएको छ ।
त्यसैगरी,सवारीको स्वरूप र इन्जिनमा अनुमति बिना गरिने प्राविधिक परिवर्तनले कम्पनीले तोकेको सुरक्षा मापदण्ड बिगार्ने र यसले सडक दुर्घटनाको जोखिमलाई निकै बढाउने गर्दछ ।सडक सुरक्षालाई चुस्त दुरुस्त राख्न र जिल्लाभित्र सम्भावित अपराध न्यूनीकरण गर्नका लागि मुख्य तथा सहायक सडक खण्डहरूमा आकस्मिक चेकिङलाई तीव्रता दिइएको कार्यालयले जनाएको छ ।नियम विपरीत चलाइएका सवारीसाधन फेला परेमा नियम अनुसार जरिवाना असुल गरिने र अटेर गरेमा सवारी नै नियन्त्रणमा लिएर मुद्दा चलाउने सम्मको तयारी भइरहे ट्राफिक प्रहरीले जनाएको छ ।