पार्टी पुनः एकतावद्ध हुन्छ, नेता कार्यकर्तालार्ए संम्यमित हुन एमाले सर्लाहीका अध्यक्ष पन्तको आग्रह

3.6k Shares

 नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औँ स्मृति दिवस सर्लाहीमा वृक्षारोपण कार्यक्रम गरि मनाइएको छ । बिहीबार संस्थापक महासचिव श्रेष्ठको ४३ औँ स्मृति दिवसको अवसरमा नेकपा एमाले सर्लाहीले बेग्लाबेग्लै स्थानमा वृक्षरोपण गरेको छ ।
 नेकपा(एमाले) का वरिष्ठ नेता एवम पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल र झलनाथ खनाल समूहले लालबन्दी नगरपालिका १५, परवानिपुरको बोहोरे डाँडामा निर्मित पुष्पलालको स्मृति पार्क परिसरमा सरसफाई एवम वृक्षारोपण कार्यक्रम गरेको हो भने नेकपा(एमाले)का अध्यक्ष एवम पुर्व प्रधानमन्त्री केपी शर्मा ओली समूहले लालबन्दी नगरपालिका ९, बस्तीपुरस्थित जनज्योति सामुदायिक वन परिसरमा वृक्षारोपण गरेर पुष्पलालको ४३ औँ स्मृति दिवस मनाएको छ ।
पुष्पलाल स्मृति प्रतिष्ठान सर्लाहीको आयोजनामा परवानीपुरमा प्रतिष्ठानका अध्यक्ष उद्धव पाठकको अध्यक्षता तथा नेपाल–खनाल समूह निकट जिल्ला कमिटी अध्यक्ष रेवती पन्तको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । भने अध्यक्ष ओली समूहले जिल्ला कमिटीको आयोजना तथा समूहका जिल्ला कमिटी अध्यक्ष राजनारायण साहको अध्यक्षता तथा संविधान सभा सदस्य हरि उप्रेतीको प्रमुख आतिथ्यतामा वृक्षारोपण कार्यक्रम गरेको हो ।
नेपाल–खनाल समूहले पुष्पलालको स्मृति दिवस सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम गरी मनाउने निर्णय गरेको छ । सप्ताहव्यापी कार्यक्रमकै अवसरमा वरिष्ठ नेता नेपालको प्रमुख आतिथ्यतामा बोहोरे डाँडामा निर्मित पुष्पलालको शालिक अनावरण गरिने प्रदेश सभा सदस्य एवम नेकपा(एमाले) सर्लाहीकी जिल्ला कमिटी सचिव बेची लुङ्गेलीले जानकारी दिनु भयो ।
बिहीबारको कार्यक्रममा नेताहरु केशव ढुङ्गाना, सुरेन्द्र लामा, प्रदेश सभा सदस्य द्वोय लुङ्गेली र डिल्ली प्रसाद उप्रेती, लालबन्दी नगरपालिकाका नगर प्रमुख मानबहादुर खड्का, हरिपुर नगरपालिकाका नगर प्रमुख जमिरुद्धिन मन्सुर लगायतको आतिथ्यता रहेको थियो ।
यस्तै, ओली समूहको आयोजनामा भएको कार्यक्रममा जिल्ला कमिटीका सचिव केदार खत्री, नेताहरु विदुर प्याकुरेल, राजकुमार उप्रेती, हरिवन नगरपालिकाका नगर उप प्रमुख रेणुका पौडेल लगायतको आतिथ्यता रहेको थियो ।
अध्यक्ष ओली समूहले पुष्पलालको स्मृति दिवसकै अवसरमा ५ जना वृद्धहरुलाई दोसल्ला ओढाएर सम्मान समेत गरेको छ । सर्लाहीमा एमालेका दुवै समूहले आफ्नो कमिटी नै आधिकारिक रहेको दावी गर्दै आइरहेका छन् । नेपाल–खनाल समूहका जिल्ला अध्यक्ष पन्तले जिल्ला अधिवेशनबाट चुनिएको कमिटी आफूहरुको रहेको र दिवंगत नेताप्रति सम्मान व्यक्त गरेर जो कसैले कार्यक्रम गर्नु सकारात्मक पक्ष भएको बताउनु भयो । वृक्षारोपण कार्यक्रमलाई सम्वोधन गर्दै नेकपा(एमाले) सर्लाहीका अध्यक्ष पन्तले पार्टी पुनः एकतावद्ध हुने बताउँदै सबै नेता कार्यकर्तालाई संम्यमित हुन आग्रह गर्नु भयो ।
यता, अध्यक्ष ओली समूहका जिल्ला अध्यक्ष साहले जिल्लामा संस्थापन पक्ष आफूहरु रहेको र आफूहरुले नै गरेको कार्यक्रम आधिकारिक हुने दावी गर्नु भएको छ । नेपालको वाम प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको पुष्पलालको २०३५ साल साउन ७ गते भारत प्रवासमा रहेको बेला निधन भएको थियो । उहाँको निधन भएकै दिन पारेर नेकपा(एमाले)ले बर्सेनि स्मृति दिवस मनाउँदै आइरहेको छ ।
 

सम्बन्धित समाचार