भूमि आयोगमा एमाले अध्यक्ष साहको सिफारिसमा छोरा रौनितलाई नियुक्ती,एमाले सर्लाहीमा हंगामा

361 Shares

नेकपा (एमाले) सर्लाहीका अध्यक्ष राजनारायण साहले आफ्ना छोरा रौनित साहलाई भूमि समस्या समाधान आयोग सर्लाहीको सदस्यमा नियुक्त गराएका छन्।अध्यक्ष साहको सिफारिसमा भूमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले रौनितसहित दुई जनालाई भूमि आयोग सर्लाहीको सदस्यमा नियुक्त गरेका पाइएको छ ।
मन्त्री अधिकारीले पहिलो चरणमा ५१ जिल्लाका भूमि समस्या समाधान आयोगको जिल्ला समितिमा एक सय एक जना सदस्य नियुक्त गर्दा एमाले सर्लाहीका अध्यक्ष साहका छोरा रौनितको पनि आफ्नै बुबा राजनारायणको सिफारिसमा नियुक्त गरिएको पाइएको छ । सर्लाहीबाट राजनारायणका छोरा रौनित र एमालेकी पवित्रा कुमारी घिमिरे एमालेको कोटाबाट आयोगको सदस्यमा नियुक्त भएका छन्।
आयोगको सर्लाही जिल्ला अध्यक्षमा कांग्रेसबाट यसअघि नै मदन वि.क नियुक्त भइसकेका छन्। एमाले अध्यक्ष साहले आयोगमा आफ्ना छोरालाई नियुक्तिको लागि सिफारिस गरेपछि एमाले सर्लाहीमा भने विवाद देखिएको छ।
पदको दुरुपयोग गरेर एमाले अध्यक्ष साहले आफ्ना छोरालाई आयोगको जिल्ला सदस्यमा नियुक्तिको लागि सिफारिस गरेदेखि नै एमाले सर्लाहीका नेता कार्यकर्ता रुष्ट देखिएका छन्।एमाले अध्यक्ष साहको कार्यशैलीको विरोध गर्ने पार्टीका नेता कार्यकर्तालाई भने एमाले अध्यक्ष साहले उल्टै कारबाहीको तयारी गरेपछि यो विषयले सर्लाहीमा झन् चर्चामा आएको हो।यता,सो विषयमा बुझ्न एमाले सर्लाहीका अध्यक्ष साहलाई फोन गर्दा उनले केही बताउन चाहेनन् । 

सम्बन्धित समाचार