Close This

आफैँ संक्रमित भएर पनि विपद्का सारथिले गरे संक्रमितको उपचार

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-२-२४ गते   २१६ पटक हेरिएको

सर्लाहीको हरिवन नगरपालिका–९ सुकेपोखरीको सर्लाही जीवन अस्पताल सञ्चालन गर्दै आइरहेका एक जोडि आफु कोरोना संक्रमित भएपनि अरु कोरोना संक्रमितको उपचारमा लागि रहेका छन् ।
गत वर्ष कोरोना भाइरसको पहिलो लहर फैलिँदै गर्दा सरकारले लकडाउन गरेपछि अलपत्र परेका पैदलयात्रीलाई निःशुल्क खाना खुवाउन खटिएका ती एक दम्पती यस पटकको संकटमा भने संक्रमितको उपचारमा जुटेका छन् ।उनिहरु  आफैँ संक्रमित हुँदासमेत  बिमारीको हेरचाहमा अहोरात्र खटिएका छन् ।
सर्लाही जीवन अस्पताल सञ्चालन गर्दै आएका अमृता उप्रेती र अर्जुन मैनाली अहिले आफुहरु नै कोरोना संक्रमित छन् । बिरामीको उपचारमा खटिँदा खटिँदै आफूहरू समेत कोरोना संक्रमित भएको अमृताले बताउनु भयो । अमृताका अनुसार उनीहरूकै कारण छोरा, छोरी, दाजु, बुबा सहित पुरै परिवार  संक्रमित भएका छन् ।
उप्रेती परिवारले निर्माणधीन अस्पताल भवन आइसोलेसनका रूपमा प्रयोग गर्न हरिवन नगरपालिकालाई दिएका थिए । नगरले भवनमा ६० बेडको अक्सिजनसहितको आइसोलेसन तयार गरेको जनाएको थियो । आइसोलेसन स्थापना गरेको सुनेपछि वैशाख २४ देखि नगरका संक्रमितहरु उपचारका लागि आउन सुरु गरेका अमृताका श्रीमान अर्जुनले बताउनुभयो । तर, नगरपालिकाले बिरामीको उपचार भने अहिलेसम्म नगरेको उनिहरुको भनाई छ ।  बिरामीको उपचारमा नगरपालिकाले बेवास्ता गरेपछि उनीहरू आफैँ उपचारमा खटिएका छन् । ‘नगरपालिका  तर्किरहेको छ, बिरामी बेडमा लम्पसार परेपछि हामीले कसरी फर्काउनु , बिरामी मरेको हेरेर बस्न सकिएन र उपचारमा खटिएका छौँ ’ अर्जुनले बताउनुभयो ।  दुवैजना स्वास्थ्यकर्मीहरुले सचालन गरेको निजि अस्पतालले कोरोना संक्रमितको उपचार शिस्वार्थ भावलेगरि रहँदा नगरपालिका मौन वस्दा आफुहरुलाई आश्चर्य लागेको अमृताले बताउनुभयो ।
अहिले उनीहरूको निगरानीमा हरिवन,बागमती, लालबन्दीलगायत स्थानबाट आएका १९ जना संक्रमित उपचारत अवस्थामा छन् । गम्भीर समस्या भएका आठजना उपचार पश्चात् घर फर्किसकेका अस्पतालले जनाएको छ । सामान्य स्वास्थ्य सुरक्षाको सामग्री समेत नहुँदा असुरक्षित ढंगले बिरामीको उपचार गरि रहनु परेको अमृताले दुखेसो छ । उपचारत बिरामीका लागि बागमती नगरपालिकाका नगरप्रमुख भरतकुमार थापाले अक्सिजन सहयोग गर्नु भएको थियो । अहिले त्यहि अक्सिजन प्रयोग भईरहेको छ । 
निकै अनुरोधपछि हरिवन नगरले पनि चारवटा खाली सिलिन्डर दिएको छ । आफैँ संक्रमित भएका कारण बिरामीको हेरचाह गर्न निकै समस्या हुने गरेको छ । तर, बिरामीहरू अन्त जान नमानेको अमृताले बताउनुभयो । थप भर्ना नलिने भनेर फर्काउँदा समेत बिरामीहरू अस्पतालको गेटमा बस्ने गरेको छन्। उनले भनिन् ।
बिरामी बढेपछि डाक्टर र स्वास्थ्य सामग्रीको व्यवस्था गर्न हरिवन नगरपालिकाका नगर प्रमुख गणेशप्रसाद प्रसाईलाई निकै अनुरोध गरे पनि बेवास्ता गरेको उनको भनाइ छ । नगरपालिकाले भने अस्पताल राख्नुपर्ने बिरामीलाई आफ्नै स्वास्थ्य कार्यालयस्थित आइसोलेसनमा राखेको जनाएको छ ।  अस्पताल सञ्चालक अमृत सिएमए हुन् भने उनका श्रीमान् अर्जुन ल्याब टेक्निसिएनसँगै जुनिएर इन्ट्रन हुन् । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech