सर्लाहीको हरिपुर नगरपालिका १, मूर्तिया जंगलमा शनिबार करिब साँढे ४ बजे भएको हत्याको अनुसन्धान गर्न तालिम प्राप्त कुकुर झिकाइएको छ । हरिपुर नगरपालिका १, मूर्तिया जंगलमा शनिबार करिब साँढे ४ बज एक युवको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेपछि प्रहरीले तालिम प्राप्त कुकुर झिकाएर आवश्यक अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
रौतहटको गुजरा नगरपालिका २ का ३१ वर्षीय विष्णु घिसिङको शव मूर्तिया जंगलमा शनिवार फेला परेको थियो । मुक्तेश्वर सामुदायिक वन क्षेत्रमा माथिल्लो घाँटी रेटेर हत्या गरिएको अवस्थामा घिसिङको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रविण पोख्रेलले जानकारी दिनु भयो ।
घाँस दाउरा गर्न वन क्षेत्रमा गएका स्थानियले शव देखेपछि प्रहरीलाई खबर गरेका रु खबर पाउना साथ ईलाका प्रहरी कार्यालय बरहथवाको प्रहरी टोली घटना स्थलमा पुगेको ईलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक उमाशंकर यादवले जानकारी दिनु भयो । उहाँका अनुसार मृतक घिसिङ रौतहटबाट बरहथवा नगरपालिका ९, मूर्तिया निवासी दिदी–भिनाजु पर्ने आफन्तकोमा आएका बुझिएको छ । शनिबार दिउँसो जंगलमा दिदीसँगै दाउरा काट्न गएका घिसिङको घाँटी रेटिएको अवस्थामा शव फेला परेको प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
सर्लाही प्रहरीका अनुसार शनिबार राती ७ बजेदेखि झण्डै दुईघण्टा कुकुरलाई जंगल क्षेत्रमाअनुसन्धानका लागि छाडिएको थियो । कुकुरले गरेको शंका तथा प्रहरी अधिकारीहरुको समेत शंकाका आधारमा तीनजनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाईएको प्रहरी प्रमुख प्रहरी उपरिक्षक पोख्रेलले जानकारी दिनु भयो । प्रहरी स्रोतका अनुसार प्रहरीले मृतकका भिनाजु नाता पर्ने सहित तीनजनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाएको छ ।
शवको प्रकृति हेर्दा ती युवकको शनिबार दिउँसो नै दाउरा काट्ने दवियाले घाँटी रेटेर हत्या गरिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको प्रहरीले जनाएको छ ।