Close This

बागमती प्रदेशका ११ जिल्लाका आइसाेलेसन वार्ड सबै खाली

पत्र पत्रिका    प्रकाशित: २०७७-१-२० गते   ३११ पटक हेरिएको

मुलुकमा कोरोना संक्रमितको संख्या बढ्दो छ । प्रत्येक जिल्लामा कोरोना संक्रमणबाट बच्न र तत्काल उपचारका लागि आइसाेलेसन वार्ड बनाइएको छ । कोरोना संक्रमित बढ्दो क्रममा रहेको अवस्थामा बागमती प्रदेशका ११ जिल्लाका आइसाेलेसन वार्ड सबै खाली छन् । प्रदेशको ११ जिल्लामा तयारी अवस्थामा राखिएको आइसाेलेसन वार्डमा कोही छैनन्, त्यसैगरी सात जिल्लाको क्वारेन्टाइन बेड पनि खाली छन् ।

सामाजिक विकास मन्त्रालय बागमती प्रदेशको तथ्यांकअनुसार काठमाडौं, भक्तपुर, धादिङ, रसुवा, नुवाकोट, चितवन, सिन्धुली, रामेछाप, सिन्धुपाल्चोक, काभ्रे र दोलखामा तयारी पारिएका आइसाेलेसन वार्ड सबै खाली छन् । ती आइसाेलेसन वार्डमा कोही बिरामी नभएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा एक सय ९६, भक्तपुरमा ४२, रसुवा ३५, नुवाकोटमा १६, धादिङमा १५, चितवनमा तीन सय दुई, सिन्धुलीमा ३२, रामेछापमा ५९, दोलखामा ३७, काभ्रेमा १३ र सिन्धुपाल्चोकमा ४२ बेडको आइसाेलेसन तयारी अवस्थामा राखिएको छ । तर, बिरामीको संख्या भने शून्य छ । नयाँ बिरामी नभएको र कोरोना आशंका गरिएका व्यक्ति नभएका कारण आइसाेलेसन बेड खाली रहेको मन्त्रालयको दाबी छ ।

कोरोना संक्रमणको आशंका गरिएका व्यक्ति नभेटिएकै कारण आइसाेलेसन बेड खाली भएको मन्त्रालयका अस्पताल विकास तथा चिकित्सा महाशाखा प्रमुख डा. पुरुषोत्तमराज सेढाईंले बताए । आइसाेलेसन बेड खाली भए पनि सबै तयारी अवस्थामा राखिएको र कर्मचारी तथा स्वास्थ्यकर्मी खटाइएको उनको भनाइ छ ।

सात जिल्लाको क्वारेन्टाइन पनि खाली 

कोरोना आशंका गरिएका व्यक्तिलाई कम्तीमा १४ दिनसम्म परिवार, समुदाय र अन्य व्यक्तिबाट टाढा राख्नका लागि बनाइएको क्वारेन्टाइन बेड सात जिल्लामा खाली छ । बागमती प्रदेशको १३ मध्ये सात जिल्लामा तयारी अवस्थामा राखिएका क्वारेन्टाइनमा कोही पनि छैनन् । सामाजिक विकास मन्त्रालय बागमती प्रदेशका अनुसार ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, रामेछाप, दोलखा र काभ्रेमा तयारी अवस्थामा राखिएका क्वारेन्टाइन बेड सबै खाली छन् ।

ललितपुरमा एक सय १२, भक्तपुरमा तीन सय १३, चितवनमा तीन सय, मकवानपुरमा दुई सय १८, रामेछापमा तीन सय ३१, दोलखामा एक सय ६०, काभ्रेमा दुई सय ९० बेडका क्वारेन्टाइन तयारी अवस्थामा राखिएको मन्त्रालयले जनाएको छ ।

चालू अवस्थामा रहेको आइसोलेसन र क्वारेन्टाइनमा न्यून बिरामी
बागमती प्रदेशमा चालू अवस्थामा रहेका आइसाेलेसन र क्वारेन्टाइनमा न्यून बिरामी छन् ।  मन्त्रालयका अनुसार प्रदेशका १३ जिल्लामा कुल नौ सय ४८ बेडको आइसाेलेसन तयारी अवस्थामा राखिएको छ । ती आइसाेलेसनमा जम्मा सातजना मात्र बिरामी छन् । त्यसैगरी तीन हजार आठ सय ९४ बेडको क्वारेन्टाइनमा जम्मा चार सय ५० जना बसिरहेका छन् ।https://www.nayapatrikadaily.com

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech