कमला ढल्केवर पथलैया पूर्व पश्चीम यसियन हाईवे विस्तारको क्रममा मधेशका पाँच जिल्लाका करिब साँढे ३१ हजार विभिन्न प्रजातिका रुखहरु काटिने भएका छन् । धनुषा, महोत्तरी, सर्लाही,रौतहट र बाराका कमला ढल्केवर पथलैया पूर्व पश्चीम यसियन हाईवे विस्तार क्षेत्रमा पर्ने ३१ हजार चार सय ६६ वटा विभिन्न प्रजातिका रुखहरु काटिने मधेश प्रदेश वन निर्देशनालयले जनाएको छ ।निर्देशनालयका अनुसार धनुषामा एक हजार आठ सय ७६ वटा,महोत्तरीमा छ हजार १७ वटा,सर्लाहीमा तीन हजार छ सय ७४ वटा,रौतहटमा १० हजार चार सय ५६ वटा र बारामा नौ हजार चार सय ३३ वटा विभिन्न प्रजातिका रुखहरु काटिने भएका छन् ।लामो प्रतिक्षापछि डिभिजन वन कार्यालयहरु र वन तथा भू–संरक्षण विभाग तथा वन तथा वातावरण मन्त्रालय हुँदै सम्पूर्ण प्रक्रिया पूरा भएपछि सो क्षेत्रमा पर्ने साल,खयर,सत्तीसाल,वर्राे,मसला,सिन्दुरे,कर्मा,जामुन,बाँझी,सिमल,टिक,पिपल,असना र सिसौ लगायतका प्रजातिका रुखहरु काटिने निर्देशनालयले जनाएको छ।
जस मध्य सर्लाही र धनुषामा रुख कटानको काम सुरु भइसकेको छ । महोत्तरीको बाँके सव डिभिजन वन कार्यालय अन्तर्गत केही प्राविधिक काम बाँकी रहेकाले रुख कटान सुरु गर्न अझै केही दिन लाग्न सक्ने डिभिजन वन कार्यालय महोत्तरीले जनाएको छ ।
कार्यालयका अनुसार प्राथमिकता प्राप्त राष्ट्रिय आयोजना निर्माणका क्रममा रुख कटान गर्नुपर्दा मन्त्रीपरिषदबाटै निर्णय हुनुपर्ने हुन्छ । छपान भएको महिनौँसम्म पनि रुख कटानको अनुमति प्राप्त हुन नसक्दा राजमार्ग विस्तारको कामले गति लिन सकेको थिएन ।
आदेश प्राप्त हुनासाथ सडक आयोजनाले ठेकेदारसँग सम्झौता गरी रुख कटानको काम अघि बढाएको हो । सडक विस्तारका लागि काटिएको रुख ठेकेदारले घाटगद्दी गरेर सम्बन्धित जिल्लाको डिभिजन वन कार्यालयलाई हस्तान्तरण गर्नुपर्ने हुन्छ ।
डिभिजन वन कार्यालयले काठ सूचना निकालेर लिलाम गर्ने छ।रुख कटानको समस्या समाधान भए पनि अझै प्रमुख समस्याको रूपमा रहेको बिजुलीको पोल सार्ने र खानेपानीको पाइप बिछ्याउने काम चूनौतीकै रूपमा रहेको कमला–ढल्केबर–पथलैया सडक योजना (पूर्वी खण्ड) का आयोजना प्रमुख राजेश कुमार दासले बताए ।
उनका अनुसार बिजुलीको पोल सार्न ढिलाइ हुँदा काम गर्न समस्या परेको भन्दै निर्माण व्यवसायीले निरन्तर गुनासो गर्दै आइरहेका छन्।नेपाल विद्युत् प्राधिकरणलाई जतिसक्दो चाँडो सडकको क्षेत्राधिकार भित्र पर्ने बिजुलीका पोल र तारको व्यवस्थापन गर्न ताकेता गरिरहेको आयोजना प्रमुख दासले बताए ।
कतिपय ठाउँमा बिजुलीको पोल नहटाउँदा रुख काट्न र कतै रुख नकाट्दा बिजुलीको पोल हटाउन समस्या परेको आयोजनाले जनाएको छ।कमला पुलदेखि पथलैयासम्मको एक सय ३० किलोमिटर सडक विस्तार अन्तर्गत धनुषा,महोत्तरी र सर्लाहीमा गत वर्षदेखि धमाधम काम भइरहेको छ।रौतहट र बारा खण्डको कामसमेत अघि बढाउन पश्चिमी खण्ड हेर्नेगरी रौतहटको चन्द्रनिगाहपुरमा कार्यालय स्थापना गरिएको छ ।
अहिले दुई लेनको रहेको पूर्वपश्चिम राजमार्गलाई अब विस्तार गरेर बजार क्षेत्रमा छ लेनसहित ३१ मिटर र अन्य ठाउँमा चार लेनसहित १८ मिटर चौडाइ बनाइने आयोजनाले जनाएको छ।सडक विस्तारको काम गर्न विश्व बैँकले रु १८ अर्ब ६० करोड ऋण नेपाल सरकरालाई सहयोग प्रदान गरेको छ ।त्यसैगरी मुआब्जा पाउने लाभग्राहीहरुको पहिचान गरी के कति क्षेतीपूर्ति पाउने सो समेत विवरण तयार पारी सकेको आयोजनाले जनाएको छ ।