सर्लाहीको लालबन्दी नगरपालिकामा ४८ वटा सामुदायिक विद्यालयहरु छन्।सर्लाहीको शैक्षिक हबको रुपमा विकास हुँदै गएको लालबन्दी नगरपालिकामा १७ वटा वडामा ४८ वटा सामुदायिक विद्यालयहरु रहेका भएपनि शैक्षिक गुणस्तरको सवालमा चर्चा गर्न लाएक केही सामुदायिक विद्यालयहरु मात्रै छन्।जसमा लालबन्दी नगरपालिका ६ स्थित रहेको प्रेम ज्योती आधारभूत विद्यालय यतिबेला शैक्षिक गुणस्तरमा चर्चा गर्न लाएक हुँदै गएको छ ।
२०४२ सालमा स्थापना भएको प्रेम ज्योतीले करिब ३७ वर्षपछि महिला प्रधानाध्यापक पायो।जसको सकारात्मक प्रतिफल देखिन थालेको छ।कक्षा आठ सम्म अध्यायन/अध्यापन हुने प्रेम ज्योती सामुदायिक विद्यालय भएपनि प्ले ग्रुपदेखि कक्षा आठसम्म अंग्रेजी माध्यामबाट मात्रै अध्यायन/अध्यापन हुने लालबन्दी नगरपालिकाको एक मात्रै सामुदायिक विद्यालय हो ।स्थानीय महिला प्रधानाध्यापकको दूरदृष्टि,नेतृत्व क्षमता र समर्पणका साथै विद्यालयका लगनशिल,मेहनती र सहयोगी भावनाका शिक्षक तथा विद्यालय कर्मचारी भएका कारण प्रेम ज्योती सामुदायिक विद्यालय भएपनि अंग्रेजी माध्यामबाट मात्रै अध्यान/अध्यापन हुने गरेका कारण अहिले विद्यार्थी संख्या बढेको छ ।
स्थानीय तह लालबन्दी नगरपालिकाले नगर भित्रका सामुदायिक विद्यालयहरुको प्रधानाध्यापकहरुको परिक्षा नै लिएर छनोट गरेर तुलसा कुमारी गौतमलाई प्रेम ज्योतीको प्रधानाध्यापकको रुपमा पठाएको करिब दुई शैक्षिक सत्रको अन्तरालमा विद्यार्थीहरु संख्या अत्याधिक बढेको छ।प्रधानाध्यापक गौतमको अगुवाइमा शैक्षिक गुणस्तर सुधार र प्रविधिमैत्री शिक्षण प्रणालीलाई प्राथमिकता दिइएका कारण सामुदायिक विद्यालय भएपनि विद्यार्थीहरुको संख्या बढ्दो अवस्थामा रहेको छ।अभिभावक तथा विद्यालय व्यवस्थापन समितिको समेत प्रत्यक्ष संलग्नतामा नियमित अभिभावक/शिक्षक बैठक र समुदायसँगको समन्वय बढाउँदै लगेपछि विद्यार्थी संख्या वृद्धि,शैक्षिक गुणस्तरमा सुधार हुनुका साथै लैंगिक समानतालाई जोड दिएका कारण विद्यालयमा छात्रा उपस्थिति करिब ७० प्रतिशत पुगेको छ ।
अंग्रेजी माध्यामका विद्यालयहरुको खोजीमा रहेका अभिभावकहरु सामुदायिक विद्यालय मै अंग्रेजी अध्यायन गर्न पाउने भएपछि आफ्ना छोराछोरीहरुलाई संस्थागत विद्यालयहरुबाट निकालेर प्रेम ज्योतीमा भर्ना गर्न रुचाउने गरेका विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष पार्वती कार्कीले बताइन् । “विद्यालय मात्र होइन,समग्र समुदायलाई शिक्षित बनाउन मेरो मुख्य उद्देश्य हो।सबैको सहयोगले आज यो विद्यालय नमुना विद्यालय तर्फ उन्मुख हुन सफल भएको छ।”प्रधानाध्यापक गौतमले बताईन् । विद्यालयको सफल मोडेल अन्य सामुदायिक विद्यालयहरूका लागि पनि प्रेरणादायी बनाउने गरी काम गरि रहेको विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष कार्कीले बताईन्।शिक्षक तथा शिक्षिका र विद्यालय कर्मचारी गरि १३ जना कार्यरत रहेको सो विद्यालय निकट भविष्य मै लालबन्दी नगरपालिकाको एक मात्र नमुना विद्यालय बन्ने पक्का भएको स्थानीय अभिभावकहरु बताउँछन् ।
विद्यार्थीको शैक्षिक गुणस्तर सुधार हुँदै गएपछि विद्यार्थी संख्या बढेका कारण भवन(भौतिक)अभाव भएको समेत विद्यालय प्रशासनले जनाएको छ।प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष दुवै जना महिला भएका कारण पनि उनीहरुको मन तन मिलेपछि नमुना विद्यालयको रुपमा विकास हुँदै गएको प्रेम ज्योतीबाट जिल्लाका अन्य विद्यालयहरुले पनि पाठ सिक्न जरुरी छ ।