सर्लाहीको ईश्वरपुर नगरपालिका–१५ का तत्कालीन वडाअध्यक्ष र तत्कालीन मालपोत कार्यालय मलंगवाका प्रमुख सहित सात जना विरुद्ध एक व्यक्तिको नाममा रहेको जग्गा नक्कली कागज खडा गरी अर्कैको व्यक्तीको नाममा दर्ता गराएको आरोपमा मुद्धा दर्ता भएको छ ।
इश्वरपुर नगरपालिका–१५ साविक सोकनाहा गाविस वडा नं २ (ख) अन्तर्गत पर्ने कित्ता नं ६२ क्षेत्रफल ०–११–२ जग्गा मालपोत कार्यालय,सर्लाहीका तत्कालीन प्रमुख पनिलाल यादव, तत्कालीन नायव सुब्बा टुकराम कोइराला र तत्कालीन खरिदार राजेश कुमारका साथै इश्वरपुर नगरपालिका–१५ का तत्कालीन वडाअध्यक्ष कपिलदेव चौधरी,वडा सचिव राम गुलाम राय तथा जग्गा प्राप्त गर्ने किशोरी धामी थारू र जग्गा प्राप्त गर्न सिफारिस तथा निवेदन दिने भोसा धामी थारू विरुद्ध विशेष अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।
कर्मचारी तथा भू–माफिया समेतको मिलेमतोमा फर्जी जग्गाधनी पूर्जा बनाई बेचबिखन गरेको भन्ने समेत बेहोराको उजुरी अख्तियारमा परेपछि छानविन गरी आवश्यक कार्बाहीका लागि विशेष अदालतमा मुद्धा दायर गरिएको अख्यितारले जनाएको छ ।सो सम्बन्धमा अनुसन्धान हुँदा उक्त जग्गा दर्ता गर्ने प्रयोजनका लागि हुँदै नभएको तथ्य खडा गरी रामदेव बैठा र राजदेव बैठाको हकभोगमा रहेको जग्गालाई हकभोग नभएका किशोरी र भोलाको नाममा हकभोगमा रहेको भनी कार्यालयमा भएको विवरण सच्याई एउटा व्यक्तिको नाममा हक भोग रहेको जग्गा अर्कै व्यक्तिको नाममा कायम गरी स्रेस्ता पूर्जा तयार गरिएको आरोपमा उनीहरु विरुद्ध उजुरी दर्ता गरिएको अख्तियारले जनाएको छ ।
सो कार्यमा संलग्न तत्कालीन कार्यालय प्रमुख यादवसमेतका प्रतिवादीहरूको एक आपसको मिलेमतोमा आफू समेतलाई गैर–कानुनी लाभ र जग्गाधनीलाई प्रत्यक्ष हानि–नोक्सानी पुर्याउने बदनियतले भएका तथ्यहरू लुकाई छिपाई हुँदै नभएको जग्गाधनी खडा गरी किशोरीको नाममा दाखिल खारेज गरी गलत व्यक्तिको नाममा दर्ता गरी गलत लिखत तयार गरी सरकारी निकायको कागजात अनाधिकृत हेरफेर थपघट गरे गराएको अख्तियारको दाबी छ।