Close This

चन्द्रनगर गाउँपालिकाले फागुन १ गतेदेखि डिजिटल हाजिरी अनिवार्य गर्ने

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-१०-२६ गते   २५६ पटक हेरिएको

सर्लाहीको चन्द्रनगर गााउँपालिकाले पालिका तथा मातहतका सबै सरकारी कार्यालय,स्वास्थ्य संस्था र सामुदायिक विद्यालयमा डिजिटल हाजिरीकोे व्यवस्था गरेको छ । चन्द्रनगर गाउँपालिकाले पालिका तथा मातहतका सरकारी कार्यालयहरु र सामुदायिक विद्यालयहरुको वेथिती रोक्न डिजिटल हाजिरीको व्यावस्था गरेको हो ।
गाउँपालिकाका कार्यालय,सातै वटा वडा कार्यालय,गाउँपालिका भित्रका सामुदायिक विद्यालय तथा पालिका मातहतका अन्य सरकारी कार्यालयमा फागुन १ गतेदेखि अनिवार्य डिजिटल हाजिरी गर्नु पर्ने गरि व्यवस्था मिलाईएको गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले जानकारी दिए । 
उनका अनुसार गाउँपालिकाका सबै सातै वटा वडा कार्यालयहरु,पालिका भित्रका सरकारी कार्यालयहरु,स्वास्थ्य संस्थाहरु र सामुदायिक विद्यालयहरुमा बेथिती बढेको भन्दै त्यसलाईसुर्धान डिजिटल हाजिरीको व्यावस्था गरिएको हो । 
फागुन १ गतेदेखि प्रत्येक महिनाको डिजिटल हाजिरीमा अनुपस्थित देखिएको दिनका बारेमा आवश्यक कागजात तथा उचित कारण नभएको अवस्थामा नीयमानुसारको हाजिर कट्टी गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन बहादुर थिङले जानकारी दिए ।उनका अनुसार जनताको करबाट उठेको राजश्वबाट जनतालाई सेवा प्रदान गर्न दिईएको तलब र सेवा प्राप्त गर्ने शिक्षक,कर्मचारी र जनप्रतिनिधिहरुलाई गुणस्तरीय सेवा प्रदान गर्न र जिम्मेवार वनाउन डिजिटल हाजिरीको व्यावस्था गरिएको हो ।
गाउँपालिका कार्यालय र सामुदायिक विद्यालयहरुमा कार्यरत केहि कर्मचारी र शिक्षकहरु कार्यालयमा नियमित उपस्थित नहुने र आफू खुशी बिदामा बस्ने,तोकिएको समयमा कार्यालयमा नआउने,कार्यालय समय सकिनु अगावै कार्यालय छोड्ने,कार्यालयमा रहँदा तोकिएको पेशाक,परिचयपत्र नलगाउने लगायतका गुनासो आएकाले डिजिटल हाजिरीको व्यावस्था गरिएको गाउँपालिकाले जनाएको छ ।
‘सम्बन्धित कार्यालय वा विद्यालयमा जडान गरिएको डिजिटल हाजिरी मेसिनको सुरक्षाको जिम्मेवारी गाउँपालिका कार्यालयका प्रमुख वा विद्यालयहरुमा प्रधानाध्यापकलाई दिइएको गाउँपालिका अध्यक्ष महतोले बताए ।उनका अनुसार डिजिटल हाजिरी मेसिनमा कुनै समस्या देखिएमा गाउँपालिकाका सूचना अधिकृत र प्रशासन शाखा प्रमुखलाई तत्काल जानकारी गराएर मेसिन सुचारु गराउनुपर्ने,सूचना अधिकृत र प्रशासन शाखा प्रमुखले पनि यथासम्भव छिटो मेसिन सुचारु गराउनुपर्ने गरि व्यवस्था मिलाइएको छ ।
जनतालाई सेवा प्रदान गर्नुपर्ने जिम्मेवारीमा रहेका कर्मचारी उचित कारण नभई, नीयमानुसारको कागजात पनि पेस नगरी अनुपस्थित हुने गलत अभ्यास अन्त्य गर्न डिजिटल हाजिरीको व्यवस्था मिलाईएको गाउँपालिका अध्यक्ष महतोले बताए । जनतालाई समयमा चुस्त दुरुस्त तवरले गुणस्तरीय सेवा प्रवाह गर्न अनुशासनले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech