नेपाल पत्रकार महासंघ,ललितपुर शाखाले “मार्गदर्शक”पुस्तकको विमोचन गरिएको छ। ललितपुरको महालक्ष्मीस्थानमा आयोजित कार्यक्रममा अतिथिहरुबाट सामूहिकरुपमा पुस्तकको विमोचन गरिएको नेपाल पत्रकार महासंघ,ललितपुर शाखाका अध्यक्ष रामहरि कार्कीले जानकारी दिए ।
उनका अनुसार नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वअर्थ राज्यमन्त्री उदय शमशेर राणा, नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्मा,बागमती प्रदेशसभा सदस्य उर्मीला लामा,ललितपुरको गोदावरी नगरपालिकाका नगर प्रमुख गजेन्द्र महर्जन तथा ललितपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे र न्युनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष संगीता खड्काले सामूहिक रुपमा पुस्तकको विमोचन गरेका हुन्।

नेपाल पत्रकार महासंघ ललितपुर शाखामा आवद्ध पत्रकारहरुका यसैवर्ष एसईई र कक्षा १२ उत्तीर्ण छोराछोरीलाई सम्मान समेत गरिएको शाखाका सचिव पिक अर्यालले जानकारी दिए ।उनका अनुसार महासंघको ललितपुर शाखाले संस्थागत विकासमा योगदान पुर्याउने विभिन्न संचारमाध्यममा आवद्ध पत्रकार तथा पत्रकार महासंघ ललितपुरको स्थापनादेखि हालसम्म नेतृत्वमा रहेका अध्यक्षहरुलाई पनि सम्मान गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि एवम कांग्रेस नेता राणाले सूचना प्रविधिको वर्तमान युगमा गलत सूचना प्रवाहलाई निरुत्साहित गर्नेतर्फ ध्यान दिन पत्रकारहरुलाई आग्रह गरे।उनले अहिले डिजिटल माध्यमबाट समाचार सम्प्रेषण गर्ने अवसरसँगै चुनौती पनि थपिएको समेत बताए। सन्तनेता स्व.कृष्णप्रसाद भट्टराईले सुरु गरेको पत्रकार महासंघको इतिहासलाई जीवन्त राख्न महासंघ ललितपुर शाखाले गरेको योगदानको उनले प्रशंसा गरे।
कार्यक्रममा बागमती प्रदेशसभा सदस्य तथा नेकपा(माओवादी केन्द्र)की नेतृ लामाले महासंघ ललितपुर शाखाले प्रकाशन गरेको पुस्तकले इतिहासको संरक्षण गरेको बताइन्।उनले सम्मानित हुने सम्पूर्ण विद्यार्थीको उज्वल भविष्यको कामना गरिन्।कार्यक्रममा न्युनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष खड्काले पत्रकारिता क्षेत्रमा देखिएका समस्या समाधानमा सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिइन्।
पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष शर्माले पत्रकार महासंघ ललितपुर शाखा काठमाडौँ उपत्यकाको उत्कृष्ट शाखाको रुपमा स्थापित भएको बताइन्।उनले अनलाइन पत्रपत्रिका दर्ता सम्बन्धमा देखिएका समस्या समाधानका लागि महासंघले सरकारलाई ज्ञापनपत्र बुझाएको समेत बताईन् ।महासंघ ललितपुर शाखाले समय समयमा विभिन्न सचेतनामूलक तथा तालिम गोष्ठीहरु सञ्चालन गरी रहेको छ ।