रास्वपा नगर सचिव चौधरीकी आमा सरलीको अन्त्येष्टिमा सशस्त्र प्रहरीको सलामी

29 Shares

बाराको क्षेत्र नम्बर–१ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता मनोज प्रसाद चौधरीकी आमा सरली थरुनीको अन्त्येष्टिमा सशस्त्र प्रहरीले शोक सलामी दिएको घटना अहिले सतहमा चर्चामा छ । नियम र परम्परा विपरित सलामी दिइएको विषयमा सशस्त्र प्रहरी मुख्यालयले छानविन सुरु गरेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कोल्हवी नगर सचिव रहेका चौधरी पूर्व सशस्त्र प्रहरी समेत रहेका र उनकी आमाको अन्त्येष्टिमा सहभागी भएर सशस्त्र प्रहरीको एक टोलीले सलामी दिएको थियो।अन्त्येष्टिमा रास्वपाको टोलीसहित बारा क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य गणेश धिमालको समेत उपस्थिति रहेको थियो ।
सामाजिक सञ्जालमा उक्त घटनाका तस्बिर तथा विवरण सार्वजनिक भएपछि पूर्वसशस्त्र प्रहरी कर्मचारीका परिवारलाई यसरी शोक सलामी दिन मिल्ने कि नमिल्ने भन्ने प्रश्न खडा भएको  ।चौधरी सशस्त्र प्रहरीको बहालवाला कर्मचारी रहेको जानकारीका आधारमा सलामीका लागि टोली पठाइएको तर पछि बुझ्दै जाँदा उनी भूतपूर्व भइसकेको पाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर–१२ हे.क्वा.गण बाराका गणपति एवम् सशस्त्र प्रहरी उपरिक्षक विशाल सिलवालले बताए ।उनका अनुसार संगठनमा कार्यरत कर्मचारीका आफन्तको निधन हुँदा शोक सलामी दिने चलन रहे पनि भूतपूर्व कर्मचारीका आफन्तलाई भने यसरी सलामी दिन मिल्दैन । 
यस घटनामा त्रुटि भएको स्वीकार गर्दै कसको आदेशमा टोली गएको हो भन्नेबारे छानबिन भइरहेको उनले बताए।चौधरीकी आमाको नाम सरलीको अन्त्येष्टिमा सशस्त्र प्रहरीका ११ जना कर्मचारी सलामी दिन गएको सशस्त्र प्रहरी बल नेपाल नम्बर–१२ हे.क्वा.गण बाराका गणपति एवम् सशस्त्र प्रहरी उपरिक्षक सिलवालले बताए ।
विवादपछि चौधरीले आफू अहिले सरकारको कुनै पनि सार्वजनिक पदमा नरहेको र पूर्व सशस्त्र प्रहरी कर्मचारी रहेको बताएका छन्।आफू पूर्व सशस्त्र प्रहरी भएकाले बुवाआमाको निधन हुँदा आफूले काम गरेको संगठनले दिने आदर्श सम्मानस्वरूप शोक सलामी दिएको उनको दाबी छ ।
“म सरकारको कुनै पनि सार्वजनिक पदमा छैन।पहिला म पूर्व सशस्त्र प्रहरी हुँ।हाम्रा पुजनीय बुवाआमाको देहान्त भएपछि मैले काम गरेको संगठनले दिने आदर्श सम्मान शोक सलामी हो।यस्तो दुःखको घडीमा टीका टिप्पणी नगरिदिनुहोला।”चौधरीले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन् ।
उनले देशमा संकट वा आपत्कालीन अवस्था आए सरकारले पूर्व सशस्त्र प्रहरी कर्मचारीलाई समेत सेवामा फर्काउन सक्ने भन्दै आफूले संगठनबाट पाउने सम्मान लिएको तर्क गरेका छन् ।तर रास्वपाको प्रभाव प्रयोग गरी शोक सलामी लिइएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको छ ।पूर्व सशस्त्र प्रहरी कर्मचारीका आफन्तलाई यसरी शोक सलामी दिन नमिल्ने सशस्त्र प्रहरी बल नेपाल छिन्नमस्ता बाहिनी मधेश प्रदेशका प्रमुख एवम् सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णु भट्टराईले बताए।उनका अनुसार सशस्त्र प्रहरी बल नम्बर–१ गण बाराको कोल्हवीस्थित युनिटबाट टोली गएको थियो।घटनामा त्रुटि भएको बताउँदै उनले यस विषयमा छानबिन भइरहेको समेत बताए ।

सम्बन्धित समाचार