सर्लाहीको लालबन्दी नगरपालिका–७,मा व्यापारिक प्रयोजनको लागि निर्माण गरिएको व्यवसायीक भवन अलपत्र परेको छ ।करिब सात वर्ष पहिला नगर विकास कोषको करिब सात करोड ऋण सहयोगमा निर्माण भएको व्यवसायीक भवन प्रयोग विहीन बनको हो ।निर्माण सम्पन्न भएर ठेक्का नलागि बसेको भवन गतवर्ष भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा तोडफोड भएको थियो।त्यसपछि भवनको अवस्था थप जीर्ण बनेको छ ।
व्यवसायीक प्रयोजनले निर्माण गरिएको ठूलो संरचनाको ठेक्काबाट नगरले आर्थिक उपार्जन गर्नुका साथै व्यापार प्रवद्र्धनमा टेवा पुर्याउने अपेक्षा गरेको भएप्नि भवन ठेक्का नै नलागि जीर्ण भएपछि उत्त भवन अहिले नगरको सेतो हात्ती सावित भएको छ।नगर विकास कोषको सर्त बमोजिम ऋण सहयोग रकम तिर्नु परिरहेको तर भवनबाट कुनै आयआर्जन नभएको लालबन्दी नगरपालिकाका नगर प्रशासकीय प्रमुख पितानाथ लुइँटेलले बताए ।
उनका अनुसार जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनी गरिएको उक्त भवनलाई सञ्चालन योग्य बनाउन समेत थप ठूलो रकम खर्च हुने तर उक्त रकम नगरपालिकासंग नरहेका कारण भवन मर्मत सम्भार गर्न नसकिएको हो ।छ करोड ४१ लाख ६० हजार तीन सय ६२ रुपैयाँ २९ पैसाको लागतमा निर्माण भएको उत्तः व्यवसायीक भवन २०७८ चैत १९ गते तत्कालीन नगर प्रमुख मान बहादुर खड्काले उद्घाटन गरेका थिए ।
छ तलामा ५३ वटा कोठा,लिफ्टलगायतका संरचना गरी निर्माण भएको उत्त व्यवसायीक भवनबाट वार्षिक करिब रु दुई करोड आम्दानी गर्ने लक्ष्य राखेको दाबी गर्ने लालबन्दी नगरपालिका भवन ठेक्का नलाग्दै जीर्ण भएपछि नगरपालिका अन्यौलमा परेको छ ।ऋण लिएर राम्रो काम गरेको भन्दै कोषले देशभरिकै उत्कृष्ट नगरको रुपमा नगद रु एक लाख पुरस्कारसहित लालबन्दी नगरपालिकालाई सम्मान समेत गरेको थियो।तर,भवन बनेको पाँच वर्षसम्म पनि यसबाट कुनै आर्थिक उपार्जन गर्न नसकिएको पालिकाले जनाएको छ ।
पहिलो पटक २०८० असारमा मासिक रु छ लाख न्यूनतम भाडा दर कायम गरेर पालिकाले सूचना जारी गरेको थियो ।त्यसपछि दोस्रो पटक रु चार लाख ५० हजार,तेस्रो पटक रु तीन लाख १५ हजार हुँदै,चौथो पटक रु दुई लाख ५२ हजार भाडा दर कायम गरेर सूचना प्रकाशित गरिएको भवन पनि भवन ठेक्कामा लागेको छैन् ।एक वर्षपछि २०८२ असारमा आदित्य कन्ट्रक्सन,चन्द्रनगर गाउँपालिक–२ ले रु दुई लाख ५७ हजार पाँच सय पाँचमा ठेक्का लिएको भवन भाडामा लगाउन नसक्दै जेनजी आन्दोलनको क्रममा तोडफोड भएपछि वर्ष दिन पनि नपुगी नगरले उक्त कम्पनीसँगको ठेक्का सम्झौता पनि तोड्नुपर्यो।त्यसयता भवन जीर्ण अवस्थामा छ ।यता,तोडफोडबाट जीर्ण बनेको उक्त भवनलाई मर्मतसम्भार गरेर भाडामा लगाउन नगरले रु ३० लाख बजेट विनियोजन गरेको नगर प्रमुख वासुदेव अधिकारीले बताए ।हामीले यस वर्षको नगरसभाबाट बजेट विनियोजन गरेका छौँ।यसलाई थप सुविधा सम्पन्न बनाएर ठेक्का लगाउने छौँ ।” नगर प्रमुख अधिकारीले बताए ।