जिल्ला प्रहरी कार्यालय पर्साको अपराध अनुसन्धान शाखा अहिले राजश्व छलि शाखाको रुपमा परिणत भएको आभास हुन थालेको छ । सशस्त्र प्रहरीको बीओपी र पर्सास्थित नेपाल प्रहरीको क्राइम ब्रान्च टोलीले दशैंको मुखमा तस्करसँग मोटो रकम बुझेर राजश्व छलीमा मुख्य भुमिका निर्वाह गरेको विभिन्न तथ्य र प्रमाण फेला परेका छन् । नभए दिनदहाडै सीमा नाकाबाट तस्करी कसरी सम्भव हुन्छ भन्ने प्रश्न स्थानीयको रहेको छ ।
आइतवार बिहान करिब ४ बजे तस्करी भई भित्रिएको करिब ५ लाख मुल्य बराबरको लता कपडा बरामद भएपछि जिल्लाको क्राईम ब्रान्चले तस्करलाई संरक्षण दिन नजराना बुझेको खुलासा भएको हो । बरामद भएको मालसमानको तस्करसँग क्राईम ब्रान्चका सई प्रकाश रावतले अलौंका एक युवकलाई प्रयोग गरि रकम बुझेको समाचार स्रोतको दावी छ ।
क्राईम टोलीलाई रकम बुझाउँदा पनि आफ्नो मालसमान पक्राउ गरेको ती तस्करले आरोप लगाएपछि रावतको तस्करसँग साठगाठ उजागर भएको हो । यो त एउटा उदाहरण मात्र हो, सई रावतले तस्करहरुबाट रकम बुझेका अनगिन्ती घटनाहरु रहेको दावी समाचार स्रोतको छ ।अलौंमा क्राईम टोली नपठाउने र जिल्लाबाट पनि टोली नजाने भन्दै रावतले अलौं नाकाबाट तस्करी गर्नेहरुसँग मोटो रकम बुझ्ने गरेको बताइएको छ ।
पर्सा प्रहरीको कमाण्डर एसपी गंगा पन्तले सम्हालेयता केही हदसम्म स्वच्छ छवि प्रस्तुत गरेपनि उनको मातहतकै क्राईम ब्रान्चका सई प्रकाश रावत भने तस्करहरुलाई संरक्षण गर्दै लाखौं रकम उठाईरहेका छन् । पर्साको पहिलो भंसार नाकाको रुपमा रहेको अलौंमा प्रहरीको संरक्षणमा संस्थागत तस्करी भइरहेको दृष्य सर्वसधारणका लागि सामान्य बन्न थालेको छ ।
अलौंमा दिउँसै मटर बोकेको मोटरसाईकलको लाइन भारतीय सीमा कटेको दृष्य जो कसैले पनि सजिलै हेर्न सक्छन् । अलौंमा तस्करबाट रकम बुझन रावतले केही स्थानीयलाई परिचालित गरेको समाचार स्रोतको भनाई छ ।
यतिबेला ६ जना तस्करले भारतबाट लत्ताकपडा, हार्डवेयर , मोटरपार्टस लगायतका समान भित्र्याएर जगरनाथपुरमा ट्रक नै लोडगरि काठमाडौं लगायत मुलुकका विभिन्न ठाउँमा पठाइरहेका छन् । यसैगरी दर्जन भन्दा बढी तस्करहरुको संजालले दैनिक २५ टन केराउ भारततर्फ अवैध चोरी पैठारी गर्ने गरेको स्थानीयले बताएका छन् । तिलावे पुल नजिकै रहेको गोदामबाट केराउ लोड गरि अलौं हुँदै सीमापार हुने गरेको छ ।
स्थानीय प्रशासनले नजराना बुझेको र तस्करहरुले बाहुवलको प्रयोग गरेका कारण डरले दर्शक मात्र भएको एक स्थानीयले सुनाए । राजश्व छलीको यस काममा जिल्लाको क्राईमसँगै स्थानिय सशस्त्र प्रहरीको बीओपीको पनि सहकार्य रहेको छ । nepalbahas.com बाट