सिन्धुलीबाट पाँच वर्षमा ३३ हजार बढी राहदानी वितरण

256 Shares

सिन्धुलीबाट वैदेशिक रोजागरीको सिलसिलामा विदेशिने युवाहरुको संख्या पाँच वर्षमा करिब ३४ हजार पुगेको छ।सन् २०२० देखि २०२५ को बीचमा मात्रै ३३ हजार छ सय ३४ पुगेको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ ।यो पाँच वर्षको अवधिमा ३३ हजार छ सय ३४ जनाले जिल्ला प्रशासन सिन्धुलीबाट राहदानी लिएका छन् ।
विदेशमा काम र पढाइको अवसर खोज्दै सिन्धुलीका हजारौँ युवाहरु पाँच वर्षयता लगातार राहदानी लिएर विदेशिएका कारण जिल्लामा सामाजिक संरचना र श्रमशक्ति सन्तुलनमा असर पर्न थालेको स्थानीय जानकारहरु बताउँछन् ।
पाँच वर्षको अवधिमा राहदानी लिने संख्यामा दोब्बर भन्दा बढी भएको कार्यालयको तथ्यांकले देखाएको छ ।सन् २०२०/०२१ मा दुई हजार ७८ जना, सन् २०२१/०२२ मा चार हजार सात सय १७ जना, सन् २०२२/०२३ मा नौ हजार सात सय ५८ जनाले राहदानी लिएका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जानकारी दिए ।
उनका अनुसार सन २०२३/०२४ मा नौ हजार एक सय ४७ जनाले र गत आर्थिक वर्ष सन २०२४⁄२०२५ मा सात हजार नौ सय ३४ जनाले राहदानी लिएका छन्।तथ्यांक अनुसार खाडी मुलुक, मलेशिया,कोरिया र जापान लगायतका मुलुकहरूमा रोजगारी खोज्न जाने २२ देखि ३५ वर्ष उमेर समूहका युवाको संख्या बढी देखिएको छ ।
राहदानी लिनेहरुमा केहीले अध्यायन र भ्रमणका लागि भएपनि अधिकांशको प्राथमिकता बैदेशिक रोजगारी नै रहेको जिल्ला प्रशासन कार्यालय सिन्धुलीका सहायक प्रमुख जिल्ला अधिकारी एवम प्रवक्ता अनुज भण्डारीले बताए । उनका अनुसार गत आर्थिक वर्षमा १५ हजार आठ सय ५० जनाले राष्ट्रिय परिचय पत्रका लागि आवेदन दिएका छन् भने हालसम्म ४७ हजार तीन सय ५७ जनालाई राष्ट्रिय परिचय पत्र कार्ड वितरण गरिएको छ । 
त्यसैगरी, जिल्ला प्रशासन कार्यालय सिन्धुलीले आर्थिक वर्ष २०८१/०८२ मा रु चार करोड १६ लाख ५१ हजार ९५ राजस्व संकलन गरेको छ।राहदानी दस्तुरबाट रु चार करोड नौ लाख ४५ हजार र हातहतियार नवीकरण,संस्था दर्ता,जरिवाना र परीक्षा शुल्कजस्ता शीर्षकबाट गरी कुल रु चार करोड १६ लाख ५१ हजार ९५ रुपैँया राजश्व संकलन गरिएको हो ।

सम्बन्धित समाचार