Close This

सशस्त्र प्रहरी हरिवनले फेला पार्यो अनौठो ढुंगा,पदार्थ र बरामद् गर्यो कपडा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-४-१८ गते   ९३ पटक हेरिएको

सशस्त्र प्रहरी बल वेश क्याम्प हरिवनकोे टोलीले सोमबार साँझ एक रात्री बसबाट अनौठौ खालको ढुंगा जस्तो देखिने पदार्थ र अत्यन्त गरुंगो शिल्ड प्याक सामग्री फेला पारेको छ । दुध बोक्ने क्यान जस्तो करिब ५ लिटरको भाँडामा शिल्डप्याक रहेको उक्त सामानको तौल करिब ५० किलो रहेको सशस्त्र प्रहरी बल वेश क्याम्प  हरिवनका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक दिपेन्द्र थापाले जानकारी दिनु भयो । उहाँका अनुसार उक्त शिल्ड प्याक भाँडो भित्र विष्फोटक पदार्थ वा एसिड बनाउन प्रयोग हुने सामग्री रहेको अनुमान गरिएको छ । 
तथापी उक्त भाँडोको बाहिर भने क्रोरोसि लेखिएको सम्म बुझिने र अन्य बाँकी अक्षर बुझिएको छैन । त्यस्तै साना साना दुई बोरामा अनौठो खालका ढुंगा जस्तो देखिने पदार्थ टुक्रा टुक्रा बनाएर राखिएको अवस्थामा बरामद् भएको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी नायव उपरीक्षक थापा नेतृत्वको टोली गस्ती गर्न लालबन्दी नगरपालिका २ अन्तर्गत नवलपुर–मलंगवा सडकखण्ड अन्तर्गत जुटपानीमा पुगेको अबस्थामा उक्त बसलाई श.का लागि चेकजाँच गर्दा मलंगवाबाट काठमाडौँ जाँदै गरेको ना. ५ ख २७७० नम्बरको रात्री बसबाट उक्त सामग्री बरामद् भएको हो । उक्त बसबाट पुरुषले लगाउने सेण्डो (भित्री) गञ्जी, महिलाले लगाउने कुर्ता सरुवाल, टप लगायत कपडा १६ बोरा, ७ बोरा चपरा र २० बोरा चिनी समेत बरामद् भएको छ । 
ढुंगा जस्तो लाग्ने र शंकाष्पद् सामग्री नै बरामद् भएपछि सशस्त्र प्रहरी बल प्रदेश दुइ छिन्नमस्ता बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक(डिआईजी) चन्द्र प्रकाश गौतम र सशस्त्र प्रहरी बल १० नम्बर हे.क्वा गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठ  पनि हरिवन आउनु भएको सशस्त्र प्रहरी बल वेश क्याम्प हरिवनले जनाएको छ । 
बरामद् नौलो सामान अत्यन्त शंकाष्पद देखिएकाले नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालामा परीक्षणका लागि बुझाईने र अन्य बरामद् कपडा लगायत सामग्री पनि आवश्यक कार्बाही प्रकृयाका लागि नेपाल प्रहरीलाई बुझाईने सशस्त्र प्रहरी नायव उपरिक्षक थापाले कमलामाई मिडिया प्रालिलाई जानकारी दिनु भयो । उक्त रात्रीबसमा यात्रु भएकाले बसलाई भने हाल छाडिएको र आवश्यक अनुसन्धानका लागि पुनः नियन्त्रणमा लिएर कार्बाही प्रकृया अगाडी बढाईने सशस्त्र प्रहरीले जनाएको छ ।
बरामद् सबै सामानहरु भारतबाट तस्करी भएर सर्लाही भित्रिएको र सर्लाहीबाट पुनः काठमाडौंतर्फ लैजाँदै गरेको अवस्थामा बरामद् भएको छिन्नमस्ता बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक(डिआईजी) गौतमले बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech