मोटरसाइकल वर्कशप संचालकहरुलाई कानूनी प्रावधानका विषयमा प्रशिक्षण

3.1k Shares

सर्लाहीको लालबन्दीमा रहेको ईलाका प्रहरी कार्यालय लालबन्दीले बिहीबार मोटरसाइकल मर्मत गर्ने वर्कशपका सञ्चालकहरुसँग अन्तरक्रिया गरेको छ । पछिल्लो समय मोटरसाईकलहरु चोरीका घटनाहरु बढेको भन्दै प्रहरीले मोटरसाइकल मर्मत गर्ने वर्कशपका सञ्चालकहरुसँग अन्तरक्रिया गरेको हो ।
मोटरसाइकल चोरीका घटना न्यूनिकरण गर्ने उद्देश्यसहित लालबन्दी बजार, रानिगंज र नवलपुरमा रहेका मोटरसाइकल वर्कशप तथा मर्मत केन्द्रका सञ्चालकहरुसँग अन्तरक्रिया गरिएको ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरिक्षक निर्मल थापाले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो समय मोटरसाइकल चोरीका घटना बढिरहँदा कतिपय चोरीका घटनामा वर्कशप सञ्चालकहरुको समेत संलग्नता देखिएपछि उनीहरुलाई बिहीबार(आज) ईलाका प्रहरी  कार्यालयमै बोलाएर कानूनी प्रावधान लगायतका विषयमा प्रशिक्षण प्रदान गर्दै अन्तरक्रिया गरिएको हो ।
अन्तरक्रियामा सवारी दुर्घटना गराएर फरार भएका सवारी साधनको पाटपूर्जा फेर्न आएमा र चोरी भएको जस्तो देखिने शंकास्पद मोटरसाइकल लिएर आएमा प्रहरीमा खबर गर्न वर्कशप संचालकहरुलाई आग्रह गरिएको प्रहरीले जनाएको छ । माघ २२ गते चोरीको मोटरसाइकलसहित हरिपुर नगरपालिका ७ चिताइनबाट वर्कशपका संचालकलाई पक्राउ गरेको थियो । त्यस पश्चात प्रहरीले वर्कशप सञ्चालकहरुको समेत संलग्नता देखिएको पाइएपछि अन्र्तक्रिया तथा कानूनी प्रावधानका विषयमा जानकारी गराएको हो ।
अन्तरक्रियामा ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरिक्षक थापा र जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी निरिक्षक केदारमान दोङले कानूनी प्रावधान लगायतका विषयमा प्रशिक्षण प्रदान गर्नु भएको थियो ।
अन्तरक्रियामा उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष कल्याण कुमार जोशी, लालबन्दी जेसिजका अध्यक्ष सन्तोष पौडेल, लायन्स क्लब लालबन्दी सेन्चुरीका अध्यक्ष सन्तोष बराल लगायत समाजका विशेष मानिसहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार