माओवादी केन्द्र र एकीकृत समाजवादी विभाजनको संघारमा

321 Shares

नेकपा(माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)अहिले विभाजनको संघारमा पुगेका छन्। जेनजी विद्रोहपछिको विषम राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै माओवादी केन्द्र, एकीकृत समाजवादी सहित विभिन्न आठ दलबीच आइतबार पार्टी एकता गर्ने सहमति पत्रमा हस्ताक्षर गरेपछि उनीहरु विभाजनको संघारमा पुगेका हुन ।माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी भित्र नेतृत्व हस्तान्तरण र पार्टी पुनर्गठनको माग राखी अन्तरसंघर्ष चलाइरहेको समयमा विभिन्न आठ पार्टी विच पार्टी एकता गर्ने पत्रमा हस्ताक्षर भएपछि माओवादी केन्द्रका नेता जनार्दन शर्मा र एकीकृत समाजवादी पार्टीका नेता घनश्याम भुसाल पक्षधरका कारण यी दुई पार्टी विभाजनको संघारमा पुगेका हुन ।
माओवादी केन्द्रभित्र नेतृत्व हस्तान्तरण र पार्टी पुनर्गठनका लागि लगातार पार्टीभित्र र बाहिर आवाज उठाइरहेका शर्मा पनि पुनर्गठनको तयारीमा जुटिरहेका छन्। शनिबारदेखि नै उनी आफ्ना निकटस्थसँग सघन छलफलमा व्यस्त रहेको उनी निकटका एक नेताले बताए ।ती नेताका अनुसार “पार्टी पुनर्गठन कसरी गर्ने, वामपन्थी बीच ध्रुवीकरण र एकता कसरी अगाडि बढाउने”भन्ने विषयमा गम्भीर छलफल भइरहेको छ।
यता,शुक्रबार बसेको एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकमा माओवादी केन्द्रसँग एकता गर्ने निर्णयप्रति भुसाल, पूर्वप्रधानमन्त्री तथा नेता झलनाथ खनाल,नेताहरू घनेन्द्र बस्नेत, जीवनराम श्रेष्ठ,डा.विजय पौडेल र रामकुमारी झाँक्रीलगायतका नेताहरू असन्तुष्ट बनेका छन्। उनीहरू पार्टी एकता घोषणासँगै पुनर्गठनको तयारीमा जुटेका छन्। एकीकृत समाजवादी पार्टीका महासचिव भुसालले माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल(प्रचण्ड)सँग भेटेर “पहिले पार्टी पुनर्गठन गरेर त्यसपछि एकता गर्नुपर्ने”प्रस्ताव राखेका भएपनि माओवादी केन्द्रका संयोजक प्रचण्डले“पहिला पार्टी एकता गरौँ, त्यसपछि पुनर्गठनको प्रक्रिया अगाडि बढाउँनु पर्छ” भनेपछि आफु फर्किएको एकीकृत समाजवादी पार्टीका महासचिव भुसालले बताए।उनले माओवादी केन्द्रका संयोजक प्रचण्डले आफ्नो कुरालाई वास्ता नगरेपछि पार्टी पुनर्गठन गर्छु भनेर निस्किएको र साथीहरूसँग सल्लाह गरेर अगाडि बढ्ने बताए ।
एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालसहित बहुमत सदस्यहरू एकताको पक्षमा उभिएपछि शनिबार काठमाडौँको सुकेधारामा असन्तुष्ट पक्षको छलफल समेत भएको थियो। त्यसपछि खनाल र झाँक्रीलगायतका नेताहरू एमाले फर्किने पक्षमा छन् भने अन्य नेताहरु के गर्ने भन्ने अन्यौलमा परेका स्रोतको दाबी छ ।
२०७५ मा तत्कालीन नेकपा(एमाले)र माओवादी केन्द्र बीच भएको एकताबाट बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पनि तीन वर्ष नपुग्दै विघटन भएको थियो।त्यतिबेला अध्यक्ष रहेका केपी शर्मा ओली र प्रचण्डबीच सत्ता र शक्ति स्वार्थका कारण एकता असफल भएको आरोप प्रत्यारोप चलेको थियो।एकता प्रक्रियामा सहभागी आठ दलको एकता घोषणा कात्तिक १९ गते काठमाडौँको भृकुटीमण्डपमा हुँदैछ।१८ बुँदे सहमति पत्रमा माओवादी केन्द्र, एकीकृत समाजवादी,नेपाल समाजवादी पार्टी लगायतले हस्ताक्षर गरेका छन्।
कात्तिक ३० गतेभित्र दल दर्ताको प्रमाणपत्र लिनुपर्ने दबाबका कारण हतारमा एकता घोषणा गर्न लागिएको माओवादी केन्द्रका एक नेताले बताए ।तर नयाँ पार्टीको नाम अहिलेसम्म सार्वजनिक गरिएको छैन।पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद(लेनिनवाद हुनेछ भने कार्यक्रम “नेपाली विशेषताको वैज्ञानिक समाजवाद”रहने र चुनाव चिन्ह “पाँचकुने तार”तय भइसकेको छ।

सम्बन्धित समाचार