सर्लाहीका २० मध्य ८ पालिकाको खाता अझैँ खुल्न सकेन

172 Shares

सर्लाहीका आठ वटा पालिकाले चालु आर्थिक वर्षको अझै खाता सञ्चालन गर्न सकेको छैन्न्।११ वटा नगरपालिक र नौ वटा गाउँपालिका गरी २० वटा स्थानीय तह रहेको सर्लाहीका आठ वटा पालिकाले आर्थिक वर्ष २०८३÷०८४ सुरु भएको अढाइ महिना बितिसक्दा समेत खाता सञ्चालन गर्न नसकेका हुन ।दशैँ बिदा सुरु हुनै लाग्दा समेत खाता सञ्चालन नहुँदा चाडपर्वमा समेत कर्मचारीको तलब भत्ता निकासा नहुनेदेखि सामाजिक सुरक्षा भत्ता वितरण कार्यसमेत प्रभावित हुने अवस्था सृजना भएको छ ।
जिल्लाका २० वटा पालिकामध्ये १२ वटा पालिकाले मात्र खाता सञ्चालनका लागि कागजात बुझाएका कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) सर्लाहीका प्रमुख पदमप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार खाता सञ्चालनका लागि आठ वटा पालिका बाहेकका पालिकाहरुले अघिल्लो आर्थिक वर्षको हिसाब मिलान सहितको कागजात पेस गरेका छन् ।जसमा लालबन्दी, हरिवन, बागमती, मलंगवा,हरिपुर्वा र बलरा नगरपालिका तथा विष्णु,बम्हपुरी, बसबरिया,धनकौल,रामनगर र कौडेना गाउँपालिकाको खाता सञ्चालनमा ल्याइसकेका प्रमुख कोष नियन्त्रक पौडेलले बताए। 
ईश्वरपुर,हरिपुर,कविलासी,गोडैता र बरहथवा नगरपालिका तथा चक्रघट्टा,पर्सा र चन्द्रनगर गाउँपालिका खाता सञ्चालनका लागि कोलेनिकाको सम्पर्कमा नै नआएका कार्यालयले जनाएको छ ।
पालिकाहरुले प्रत्येक नयाँ आर्थिक वर्ष सुरु भएपछि अघिल्लो आर्थिक वर्षको हरहिसाब मिलान, नीति तथा कार्यक्रम र बजेट पारित भएको प्रमाणसहित कोलेनिकामा निवेदन पेस गर्नुपर्ने प्रावधान रहेको प्रमुख कोष नियन्त्रक पौडेलले बताए।खाता सञ्चालनका लागि पालिकाहरुले बेवास्ता गरेको देख्दा आफुलाई आश्चर्य लागिरहेको उनको भनाई छ ।बेलैमा खाता सञ्चालन गरेर काम सुरु गर्न बेवास्ता गर्ने परिपाटी पालिकाहरुमा हट्न नसकेको उनले बताए।“हिसाब मिलान गरेर ल्याउने भन्दा पनि खाता सञ्चालन गर्न पाए हुन्थ्यो भन्ने पालिकाहरुको मनासय देखिन्छ,तर कानूनी रुपमा अघिल्लो वर्षको हिसाब मिलान नगरी खाता सञ्चालन गर्नै मिल्दैन् ।”प्रमुख कोष नियन्त्रक पौडेलले भने ।
अघिल्लो वर्षको हरहिसाब नेपाल सरकारको सुत्र प्रणालीमा मिलान गरेर खाता सञ्चालनका लागि आउन पालिकाहरुलाई ताकेता गरिरहेको कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) सर्लाहीले जनाएको छ । खाता खुल्न बाँकी रहेका पालिकाहरुले हिसाब मिलानको काम अन्तिम चरणमा पुगिसकेको दावी गरेका छन् ।नगर प्रमुखको ब्यस्तता लगायत कारणले ढिलाइ भएको र अब चाँडै कोलेनिकामा डकुमेन्ट बुझाउने गरी काम गर्दै गरेको खाता सञ्चालन नगरेका पालिकाहरुले बताएका छन् ।
जनप्रतिनिधि र कर्मचारीबिच विवाद रहेका पालिकामा तत्काल खाता सञ्चालन नहुने अवस्था रहेको स्थानीय बताउँछन्।सर्लाहीको चन्द्रनगरमा गाउँपालिका अध्यक्ष राजकुमार महतो र प्रमुख प्रशासकीय अधिकृत जयकिशोर साहबिच लामो समयदेखि विवाद चल्दै आएकाले खाता सञ्चालनको प्रक्रिया अघि बढ्नै सकेको छैन्।गाउँपालिका अध्यक्ष महतोले प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतले निर्देशन अटेरी गर्दा तत्काल खाता खुल्नै नसक्ने अवस्था आएको बताए ।
 जनप्रतिनिधि र कर्मचारीबिच सुमधुर सम्वन्ध रहेका जिल्लाका अन्य केही पालिकाहरुमा पनि खाता सञ्चालनको सुरसार नहुँदा पालिकाको आर्थिक कारोवार करिब तीन महिनादेखि ठप्प रहेको छ । भने कतिपय पालिकाहरुले महालेखा परिक्षकको लेखापरिक्षणको काम भई रहेकाले खाता सञ्चालनमा ल्याउन नपाएको बताएका छन् । सर्लाहीका अधिकांश पालिकाहरुमा कर्मचारीहरु र जनप्रतिनिधिहरु विच सम्बन्ध राम्रो रहेपनि समयमै खाता सञ्चालन गर्न र विकास निर्माणका कामहरु सुरु गर्न भने कसैको ध्यान नपुगेको स्थानीयको गुनासो छ ।

सम्बन्धित समाचार