Close This

छठ पर्वको विशेष दिन आज,२ दिन प्रदेश सरकारद्धारा बिदा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-८-५ गते   २८२१ पटक हेरिएको

मिथिलाञ्चल लगायत तराई मधेशमा आज हर्सोल्लासका साथ  सूर्यको पूजाअर्चना गरी छठपर्व मनाइँदै छ । पारिवार एवं सन्तानको सुख समृद्धिको कामना गर्दै अत्यन्त श्रद्धापूर्वक मनाइँने छठ पर्वमा आज अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ भने भोली बिहान उदाउँदो सूर्यलाई छअर्घ दिएपछि यस वर्षको छठ पर्व समाप्त हुन्छ ।
अस्ताउँदो सूर्यलाई अर्घदिन मिथिलाञ्चल लगायत तराई मधेशका पोखरी तलाउमा बनाइएको घाटमा विहानैदेखि छठको पूजा सामग्री लिएर भक्तजनहरु जान थालेका छन् । यस्तै ग्रामिण भेगहरुमा आज दिउँसो र साँझ मात्रै पूजा सामग्री लिएर भक्तजनहरु घाटमा पुग्ने जानकारीहरुले बताएका छन् ।
चार दिनसम्म मनाईने छठ पर्वको पहिलो दिन बुधबार नुहाएर अरबा अरबाईन भोजन गरेका ब्रतालुहरुले बिहीबार दोश्रो दिन साँझ प्रसादको रुपमा चामल, सक्खर र दुध मिलाएर बनाएको खीर ग्रहण गरी खरना मनाएका छन् । तेश्रो दिन अर्थात मुख्य दिन आज शुक्रबार अस्ताउँदो सूर्यलाई अर्घ दिन तयार पारेको पूजा सामग्री घाटमा लगेर पूजा गर्ने गरिन्छ भने चौथो दिन विहान उँदाउँदो सूर्यको अर्घ दिएपछि छठपर्वको विधिवत समापन हुन्छ ।
छठ पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हाती लगायतका सामग्रीहरु चढाईन्छ । त्यस्तै प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा एवं विविध प्रकारका मिठाई तथा फलफुल सूर्य देवतालाई चढाउने गरिन्छ । अर्घ दिने ब्रतालु ४८ घन्टासम्म पानी पनि नखाई उपबास बस्ने गर्दछन् । छठ पर्वमा सूर्य भगवानलाई अर्घ दिन तयार गरिने परिकारहरु अत्यन्तै नियम निष्ठापूर्वक गर्नुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्वको रुपमा मानिने गरेको जानकार उमाशंकर साहले बताउनु भयो ।
यतिबेला सूर्य भगवानलाई अर्घ दिन मिथिलाञ्चलको नदी, तलाउ, पोखरी, ईनार लगायतको जलाशयको किनारमा घाट विशेष रुपले सृंगारिएको छ भने मिथिलाञ्चलको गाउँघर, सहर बजार लगायत गल्लीमा गुञ्जिरहेको छठपर्वको सुमधुर गीतले मिथिलाञ्चलको रौनकता नै बदलिएको छ ।
पोखरी, तलाउ र नदीको घाटमा छठ गर्नेहरु अस्ताउँदो सूर्यलाई अर्घ दिन लगेको पूजा सामग्री सहित रातभर जग्राम बसेर श्रद्धाभक्ति पूर्वक पूजाअर्चना गरी भोली पल्ट विहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि मात्र पूजा सामग्री लिएर घर फर्कन्छन् । ग्रामिण भेगका कतिपय ईनारमा घाट बनाएर छठपर्व गर्नेहरु साँझ पूजा सामग्री लगेर अस्ताउँदो सूर्यलाई अर्घ दिएपछि पुनः पूजा सामग्री घर ल्याउने गर्दछन्  र विहान सूर्य उदाउनु पूर्व पूजा सामग्री घाटमा लगेर अर्घ दिने गर्दछन् । उदाउँसो सूर्यलाई अर्घको रुपमा चढाइएको पूजा सामग्री एवं प्रसाद छठ घाटमा समेत वितरण गर्ने प्रचलन छ भने घरमा लगेर प्रसादको रुपमा सबैले ग्रहण गर्दछन् । छठ पर्व नहुनेहरुलाई छठ पर्व गर्नेहरुले निम्ता दिएर, बोलाएर खुवाउनुको साथै घरमा समेत पूर्याइदिने मिथिलाञ्चलमा प्रचलन रहेको छ ।
त्यसैगरी प्रदेश २ मा आज र भोलि सार्वजनिक विदा दिइएको छ । मिथिलाञ्चलसहित तराई मधेशमा निष्ठापुर्वक मनाइने छठ पर्वको अवसरमा प्रदेश २ सरकारले आज (शुक्रवार) र भोलि (शनिवार) सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
प्रदेश सरकारले शुक्रवार सूचना जारी गर्दै लोक आस्थाको पर्व छठको अवसरमा सम्पूर्ण प्रदेशवासीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेको छ । साथै कोरोना भाइरस संक्रमण जोखिम कायमै रहेकोले स्वास्थ्य सतर्कता अपनाई छठ मनाउन सम्पुर्ण प्रदेशवासीसँग अपिल समेत गरेका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech