Close This

दोषीलाई कार्बाही गरि रौतहटमाथी लागेको कलंक हटाउन सांसद साहको आग्रह

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-८-४ गते   ३६६ पटक हेरिएको

गौर हत्याकाण्डमा संलग्न दोषीलाई कारबाही गर्न विलम्ब गर्न नहुने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश २ का अध्यक्ष तथा सांसद प्रभु साहले बताउनु भएको छ ।तराई मधेशमा विशेष मनाइने छठ पर्वको अवसरमा गरिएका शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी हुनु भएका सांसद साहले रौतहटको कलंकको रुपमा राजपुर बम काण्ड र गौर हत्याकाण्ड रहेको बताउनु भयो । उहाँले राजपुर बम काण्डको पीडितले न्याय पाउने स्थिति रहेको तर गौर हत्याकाण्डमा संलग्न अपराधी खुलेआम घुम्नु दुःखद् रहेको बताउनु भएको छ ।
हत्याकाण्डका योजनाकार तथा हत्याराविरुद्ध जाहेरी दर्ता भएको वर्षौं बितिसक्दा पनि पीडित न्यायको पर्खाइमा रहेको भन्दै सांसद साहले अपराधीलाई कारबाही गरी रौतहटमाथि लागेको कलंक हटाउन माग गर्नु भयो ।
घटनाको छानबिनका लागि गठन गरिएको आयोग समेतले अपराधीहरुको बारेमा स्पष्ट प्रमाण दिइसकेको वर्षौं बितिसकेकोले अब हत्याराहरुलाई जेल हाल्नुको विकल्प नरहेको सांसद साहको भनाइ छ । “दुई काण्डका कारण रौतहटको नाममा ठूलो कलंक लागेको छ । एउटा राजपुर बम काण्ड र अर्को गौर हत्याकाण्ड । राजपुर बम काण्डको छिनोफानो त भैसक्यो तर गौर हत्याकाण्डको पीडितले न्याय पाउन बाँकी छ,” सांसद साहले बताउनु भयो ।, “यहाँ जाहेरी दर्ता भएको छ, तत्कालिन न्यायाधीशको नेतृत्वमा गठित आयोगले प्रतिवेदन दिइसकेको छ । त्यसैले यस्तो अमानवीय र विभत्स हत्याकाण्डका दोषीलाई उन्मुक्ति दिएर कानुनी शासन बहाली हुँदैन । गौर हत्याकाण्डका दोषीलाई कानुनी दायरामा ल्याउनुपर्छ र पीडित पक्षले न्याय पाउनुपर्छ।” उहाँको भनाई छ ।
घटनाको १४ वर्ष बिति सक्दा पनि पनि न्यायका लागि गुहार्नुपर्ने र दोषीलाई कारबाही नहुने अवस्था आउनु दुःखद् रहेको उहाँले बताउनु भयो । २०६३ साल चैत्र ७ गते रौतहटको गौरस्थित राईस मिलमा तत्कालीन नेकपा माओवादीका २७ जना कार्यकर्ताको हत्या गरिएको थियो । हाल जनता समाजवादी पार्टीका अध्यक्ष रहेका तत्कालीन मधेशी जनअधिकार फोरमका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको योजनामा उक्त हत्याकाण्ड भएको भन्दै जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी दर्ता भएको थियो । तर मुद्दा अहिले विचाराधीन अवस्थामा रहेकोले न्यायका लागि पीडितहरु गुहार मागी रहेका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech