ललितपुरका सनोज महत धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्क साङपाङको शैलीमा उत्रिएका छन् ।धरानमा साङपाङले अपनाएको “एक्लो तर जनमुखी”राजनीतिले धेरैलाई चकित बनाएको थियो।तर महतले सोही शैलीमा ललितपुरको दक्षिण क्षेत्रलाई केन्द्रित बनाएर अभियानमा उत्रिए पछि अहिले धेरैको ध्यान ललितपुरतिर केन्द्रित भएको छ ।माइक बोकेर,टेम्पो चढेर,आफ्नै आवाजमा आफ्नै कुरा राख्दै साङपाङ चुनाव जित्न सफल भएका थिए भने अहिले त्यही शैली ललितपुरको गोदावरी नगरपालिकामा देखिन थालेको छ।
महत कुनै ठूला सभा वा नेताको भाषणमा सीमित छैनन्।उनी बस्ती पस्छन्,स्थानीयसँग संवाद गर्छन्,पर्चा बाँड्छन् र सार्वजनिक स्थानमै बसेर आफ्ना कुरा राख्छन्।बुधबार र बिहीबार उनी गोदावरी नगरपालिका १,गोदाम चौरमा भेटिए।वडा कार्यालय नजिकै सार्वजनिक जग्गामा टेन्ट गाडेर बसेका महतले माइकमार्फत आफ्ना विचार सुनाए।वरपर भेला भएका स्थानीयसँग अन्तरक्रिया गरे,उनीहरूको गुनासो सुने।
उनको अभियान केवल भाषणमा सीमित छैन।उनी हरेक वडामा २४ घण्टा बस्ने योजना सुनाउँछन्।ललितपुर क्षेत्र नं. १ अन्तर्गत पर्ने चार पालिकाका ३० वटै वडामा पुग्ने तयारीमा रहेको उनले सुनाए ।“वडाको सार्वजनिक जग्गामा टेन्ट हालेर रात पनि त्यहीँ बिताउँछु,जनताले कस्तो समस्या भोगिरहेका छन्,प्रत्यक्ष देख्न र बुझ्न चाहन्छु।” उनी भन्छन् ।
महतको अभियानको एउटा मुख्य केन्द्र विन्दु रहेको सामुदायिक विद्यालयमा देखिएका विकृति, विद्यालयको व्यवस्थापन,पारदर्शिता र गुणस्तरमाथि प्रश्न उठाएको छ।राजनीतिक दल र नेतृत्वले वर्षौंदेखि गरेको कामको आलोचना गर्दै “जनताको नाममा बजेट आउँछ,तर परिणाम कहाँ छ ?”उनले भने ।
पिपुल्स फस्ट पार्टीको नाममा भइरहेको यो अभियानले विद्यालयमा अनियमितता देखिए सूचनाको हक प्रयोग गरेर कागजात माग्ने र सार्वजनिक गर्ने चेतावनी पनि दिएको छ।“फण्डाफोर गर्छु,” उनी स्पष्ट शब्दमा भन्छन्, “किनभने यो राजनीति होइन,यो जनताको अधिकारको कुरा हो।”आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन घोषणा भएको सन्दर्भमा महतको सक्रियतालाई धेरैले चुनावी तयारीका रूपमा हेरेका भएपनि उनी स्वयं भने त्यसलाई अस्वीकार गर्छन्।
“निर्वाचन होला न होला,मलाई थाहा छैन,तर म आफ्ना कुरा जनतामा पु¥याउन चाहन्छु।यो अभियान चुनावका लागि मात्र होइन।”उनले बताए।लामो समय राजनीति गरेँ।अब भने ३० दिन जनतासँगै बस्दै उनीहरूका दुःख–सुख बुझ्न चाहन्छु।”उनले भने ।
गोदावरी नगरपालिका ५ लेलेका स्थायी महतको राजनीतिक यात्रा संघर्ष,जेल जीवन र वैचारिक उतार–चढावले भरिएको छ।
२०५८ सालमा पाटन कलेजमा आइए अध्ययन गरिरहेका बेला उनी तत्कालीन सरकारले आतंककारी घोषणा गरेको नेकपा (माओवादी) को भातृ संगठन अखिल क्रान्तिकारीमा आबद्ध थिए।त्यसै क्रममा“आतंककारी गतिविधिमा संलग्न”भएको आरोपमा पक्राउ परे।पछि अदालतबाट सफाइ पाए।उनले २०६० सालमा सफाइ पाए पनि त्यसबीचको समय जेलमै बिताए ।
२०६३ सालपछि माओवादी खुला राजनीतिमा आएपछि उनी पुनःसक्रिय भए।डा.बाबुराम भट्टराईको नेतृत्वमा गठन भएको नयाँ शक्ति पार्टीमा उनी ललितपुर जिल्ला प्रमुख समेत बने। तर २०६८ सालपछि उनले सार्वजनिक रूपमै पार्टी त्यागे।आज उनी आफूलाई कुनै दलको कार्यकर्ता वा नेता भन्न रुचाउँदैनन्।“म अहिले कुनै राजनीतिक गतिविधिमा सक्रिय छैन,कुनै राजनीतिक दर्शन बोकेर हिँडेको छैन।म विशुद्ध स्वतन्त्र हुँ।”उनले भने ।
“त्यो समय सचेतभन्दा बढी अचेत भएर राजनीतिमा लागेको रहेछु।तर अहिले भने आफूलाई प्रश्न गर्ने,प्रणालीलाई चुनौती दिने र जनताको बीचमै बसेर कुरा गर्ने बाटोमा छु।”उनले भने ।पुस ६ गते आइतबार “गफगाफ दक्षिण ललितपुरको”कार्यक्रम गरी ललितपुरका क्रियाशील पत्रकार तथा सरोकारवालाहरुसँग साक्षात्कार कार्यक्रम समेत गरेर उनको यो अभिायन सुरु भएको हो ।