सर्लाहीको ब्रम्हपुरी गाउँपालिका–३ भेल्हीमा रहेको सुवेदार नन्दलाल जनता माध्यमिक विद्यालयका विद्यार्थीहरुले पाठ्यपुस्तक नपाउँदा पठनपाठनमा समस्या भएको गुनासो गरेका छन् ।
गाउँपालिकाले बेलैमा पाठ्यपुस्तक नपठाउँदा आफूहरुलाई समस्या भएको भन्दै विद्यार्थीहरु मंगलवार गाउँपालिका कार्यालयमा ज्ञापन पत्र बुझाउन पुगेका थिए । तर आफूहरुको ज्ञापन पत्र बुझ्न अस्वीकार गरिएको विद्यार्थीहरुको गुनासो छ । आफूहरु गाउँपालिका अध्यक्ष वा प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापन पत्र बुझाउने योजनासहित गाउँपालिका कार्यालय पुगेपनि प्रहरी लगाएर गेटमै आफुहरुलाई रोकिएको विद्यार्थीहरुले गुनासो गरेका छन् ।
विद्यार्थीहरुले विद्यालयमा सेनेटरी प्याडको व्यवस्था गर्न, खाजा कार्यक्रम नियमित गर्न र शैक्षिक भ्रमणको रकमबाट शैक्षिक भ्रमणमा समेत लैजान माग गरेका छन् । त्यसैगरी गाउँपालिकाले समयमै आफुहरुलाई पाठ्यपुस्तक उपलब्ध गराउनुपर्ने लगायतका माग विद्यार्थीहरुले राखेका छन् । उक्त विद्यालयमा शिक्षक दरबन्दी मिलानको विषयलाई लिएर अभिभावक र विद्यार्थी आन्दोलित बनेका छन् ।