Close This

नेपाली सडकमा भारतीय सवारीको रजाइँ,सरोकारवाला निकाय मौन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-९-६ गते   ३२७३ पटक हेरिएको

जिल्लाको पश्चीमी क्षेत्रमा पछिल्लो समयमा भारतीय नम्बरका सवारी साधनहरुको प्रयोग व्यापक रुपमा बढेको छ । भारतको विहार राज्यसंग सिमाना जोडिएका प्रदेश नम्बर २ का अधिकांश जिल्लाहरुमा  खुलेआम रुपमा भारतीय नम्बरका सवारी साधनहरुको प्रयोग बढेको छ ।
भारतीय सवारी साधनहरुले भन्सार समेत नबुझाइ नेपाली सडकमा खुलेआम रुपमा बर्चश्व जमाइ रहेको पाइएको छ । भारतीय सवारी साधनहरुले भन्सार समेत नबुझाइ नेपाल प्रवेश गरी नेपाली सडकमा बर्चश्व जमाइ रहेको भएपनि सरोकारवाला निकायको ध्यान नपुगेको स्थानिय सर्वसाधारणहरुको आरोप छ ।
जिल्ला भन्सार कार्यालय सिमाना मैरहेको भएको भएपनि  भन्सारका कर्माचारीहरु असुलीमा व्यावस्त रहेका कारण पनि भारती सवारी साधनको दादागिरी चलेको स्थानिय व्यापारी राजिव सिंहले बताउनु भयो । सिमानामा २४ सै घण्टा रहने नेपाल प्रहरी र  शसस्त्र प्रहरीले पनि यस्ता सवारी साधनहरुलाई ध्यान नदिदाँ नेपाल प्रवेश गरेपछि भारतीय सवारी साधनहरुको दादागिरी नेपाली बजारमा बढ्ने गरेको छ ।
विना रोकटोक नेपाल प्रवेश गरेका भारतीय सवारी साधनहरुको प्रयोगले नेपाली भुमिमा अपराधिक गतिविधिहरु हुनुका साथै तिब्रगतिमा सञ्चालन हुने यस्ता सवारी साधानका कारण दुर्घटना समेत बढेको र बेथिति बढ्ने गरेको  जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी निरिक्षक  केदारमान दोङले बताउनु भयो ।
भारतीय सवारी साधनको प्रयोग, अपराधिक गतिविधिहरु र  दुर्घटनाका साथै  बेथितिको विषयमा जिल्लामा सुरक्षा संयन्त्रको  छलफल चलिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोष सिंह राठौरले बताउनुभयो ।
जिल्ला सुरक्षा संयन्त्रको छलफलबाट जिल्लामा सञ्चालन हुने भारतीय सवारी साधनहरुको तथ्यांक संकलन,भारतीय सवारी साधनहरुको प्रयोगलाई नियमन गर्ने लगायतका काम हुने सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताउनु भयो । “अनाधिकृत रुपमा सञ्चालित भारतीय सवारी साधनको नियमनले जिल्लामा शान्ती सुरक्षा, अपराधिक गतिविधिहरु र  दुर्घटनाका साथै  बेथितिको अन्त्यका लागि आफु लागि पर्ने” प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनु भयो । 
सरकारको आर्थिक प्रतिवेदनमा भारतीय सवारी साधनहरुलाई आवश्यक भन्सार तिरेपछि १ महिनाको लागि नेपाल भर सञ्चालन गर्न पाउने व्यावस्था भएको भएपनि प्रदेश नम्बर २ का अधिकांश नागरीकको घरघरमै भारतीय नम्बरका सवारी साधनहरु रहेको पाइएको छ । प्रदेश नम्बर २ का अधिकांश नागरिकको छिमेकी देश भारतसंग कुनै न कुनै रुपमा सम्बन्ध रहेको र उतैबाट खरिद गरि नेपालमा ल्याएर निर्वाधरुपमा सञ्चालन गर्ने गरिएको छ ।
भारतबाट भित्रने भारतीय सवारी साधनहरुको भन्सार कार्यालय,जिल्ला प्रहरी कार्यालय तथा ट्राफिक प्रहरी कार्यालयसंग कुनै तथ्यांक वा विवरण छैन । जसका कारण दुर्घटना हुँदा समेत भारतीय सवारी साधनहरु  फरार रहने र प्रहरीले फेला पार्न नसक्ने अवस्था रहेको भन्दै जिल्लाबासीले गुनासो गर्ने गरेका छन् । यसरी नियम विपरित सञ्चालीत भारतीय सवारी साधनहरुलाई कानून बमोजिम कार्बाही हुनुपर्ने स्थानियको माग छ ।
देश संघियतामा गैसकेपछि प्रदेश सरकारका मन्त्रीहरु,सांसदहरु,नेताहरु तथा स्थानिय निकायका प्रमुखहरुले समेत भारतीय सवारी साधनको प्रयोग गर्ने गरेका कारण पनि भारतीय सवारी साधनहरुलाई कार्बाही गर्न समस्या हुने गरेको जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरीले बताउनु भयो ।
भारतीय मोटरसाईकल,अटोरिक्सा,कार,जिप,ट्याक्टर तथा ट्रकहरु नेपाली बजारमा निर्वाध रुपमा सञ्चालनमा रहेका छन् । विश्वव्यापि माहामारीको रुपमा फैलिएको कोरोना भाईरस(कोभिड १९ )का कारण सिमानाका बन्द हुँदा केही भारतीय सवारीहरुले भन्सार तिर्न चाँहदा पनि भन्सार तिर्न नसक्ने अवस्था सृजना भएको भारतीय सवारी साधनका चालक सुरेन्द्र पटेलले बताउनु भयो ।
भारतीय कार,जिप,बस र ट्रकहरुको प्रयोग गर्दा दैनिक ४ सय ५३ रुपैँयाँ,मोटरसाईकलको रु १ सय र तिनपांग्रे सवारी साधनको तीन सय रुपैँयाँ भन्सार तिर्नुपर्ने भन्सार कार्यालय मलंगवाका कार्यालय प्रमुख राजेश कुमार दत्तले बताउनु भयो । उहाँका अनुसार ट्याक्टरको रु २ सय र टेलरसमेत जडान भएको खण्डमा रु ४ सय राजश्व तिर्नु पर्छ ।
कानुन अनुसार राजश्व तिरेर नेपाल प्रवेश गरेका भारतीय सवारी साधनहरु १ महिना भन्दा बढी नेपालमा रहन नपाउने व्यावस्था भएको भएपनि वर्षौदेखि नेपामै रहने गरेका पाइएको छ । राजश्व तिरेर नेपाल नेपाल प्रवेश गरेका भारतीय सवारी साधनहरु ३५ दिन सम्म भन्सार नतिरी बसेको पाइएमा उक्त सवारी साधन जफत हुने कानूनी व्यावस्था रहेको भन्सार कार्यालयको भनाई छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech