प्रतिनिधसभा विघटन र वैशाखमा आम निर्वाचन घोषणालाइ लिएर सर्लाहीका चिया पसल, चोक चौतारीमा बहस सुरु भएको छ । सर्वसाधारण नागरिकलाइ खासै चासोको विषय नबने पनि राजनीतिक दलका नेता कार्यकर्ताहरु प्रतिनिधसभा विघटनको विषय र आम निर्वाचनलाइ लिएर खुला बहस र छलफलमा जुटेका छन् । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाइ पाँच वर्ष सरकार सञ्चालन गर्ने जनमत दिए पनि त्यो भावना विपरित गुटबन्दी र घेराबन्दी गरेर काम गर्न नदिएका कारण प्रतिनिध सभा विघटन गरी ताजा जनादेशका लागि जनतामा जानु परेको जनज्योती बहुमुखी क्याम्पसका स्ववियु सभापति शिवहरी गौतमले बताउनुभयो ।

राष्ट्रपति बिरुद्ध महाअभियोग र प्रधानमन्त्री बिरुद्ध अविस्वासको प्रस्ताव दर्ता गर्ने दुस्साहस गरेकै कारण प्रधानमन्त्री ओलीले गलत मान्छेको हातमा देश सुम्पनुभन्दा जनताको हातमा सुम्पनु स्वागत योग्य रहेको सभापति गौतमको भनाई छ । यस्तै, अनेरास्ववियु सर्लाहीका संयोजक विवेक मैनालीले प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक रहेको बताउनुभयो । प्रतिनिधिसभालाई संचालन गर्न लिखित दिएको निवेदन दर्ता गर्न दिनभरी कुर्दा पनि सचिवलाई कार्यालयवाटै लुक्न लगाई दर्ता गर्न नदिने तर प्रधानमन्त्री कार्यालयमा निर्णय हुने वित्तिकै पहिला नै ड्राफ्ट तयार गरेको अनुभूति हुने गरि राष्ट्रपतिले प्रतिनिधिसभा विघटन भएको सूचना निकाल्नुले गम्भीर षडयन्त्र भएको प्रष्ट रहेको उहाँको भनाई छ ।

त्यस्तै नेपाली काङ्ग्रेस सर्लाहीका युवा नेता मनोज बख्रेलले प्रतिनिधिसभा विघटन अधिनायकवादको अभ्यास प्रारम्भको बिन्दु रहेको बताउनु भयो । यो कदम आलोच्य मात्र नभई लोकतन्त्र र संविधानको पक्षमा मत खसाल्ने नागरिकको लागि निन्दनीय घटनाको रुपमा इतिहासमा दर्ता भएको उहाँको भनाई छ । त्यस्तै, स्थानीय नागरिकहरुले प्रतिनिधिसभा विघटन जनअभिमत विपरित भएको बताएका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नको निमित्त सबै जनताले मत दिई नेतृत्वलाई निर्णायक तहमा पठाएका थिए तर संविधानले परिकल्पना नगरेको प्रतिनिधिसभा विघटन हुनु दुःखद रहेको स्थानियको भनाई छ ।