सर्लाहीमा भन्सार छली ल्याएको चाँदीका गहना र सुनसहित दुईजना पक्राउ परेका छन् । नवलपुर–मलंगवा सडकखण्डबाट भन्सार छलि ल्याईदै गरेको अवस्थामा करिब ७१ तोला चाँदीका गहना र सुनसहित २ जना पक्राउपरेका हुन ।
ईलाका प्रहरी कार्यालय नवलपुर,सर्लाहीबाट खटिएको प्रहरी गस्ति टोलीले नवलपुर –मलंगवा सडकखण्डमा सवारी चेकजाँच गर्ने क्रममा अवैध चाँदी र सुनसहित दुई जनालाई पक्राउ गरेको जनाएको छ ।
छिमेकी देश भारतबाट मंलगवा हुदैँ नवलपुरतर्फ आएको बा ६९ प ५१६१ नंको मोटरसाईकललाई रोकेर चेकजाँच गर्दा भन्सार छलेर ल्याईएको ७१ तोला ३४ लाल चाँदीको गहना र २७.७ लाल सुन झोलामा पोका पारेर लुकाईएको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोष सिंह राठौरले बताउनु भयो।
पक्राउ पर्नेमा रौतहटको चन्द्रपुर नगरपालिका–१ का २७ वर्षिय मोटरसाइकल चालक शसीकृष्ण गजमेर र पछाडि सवार सरोज वि.क रहेका छन् । उनिहरुको साथबाट नगद रु ३७ हजार ५ सय समेत बरामद भएको र भन्सार छलि गरेर ल्याईएको गहनाको अन्दाजी मूल्य रु ७० हजार कायम गरी थप अनुसन्धान र कारवाहीको लागि भन्सार कार्यालय मलंगवामा पठाईएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । खुल्ला सिमानाका कारण पछिल्लो समय भन्सार छली तथा सिमानामा चोरीतस्करीका घटनाहरु नरिन्तर हुने गरेका प्रहरीको अनुसन्धानले नै देखाएको छ ।