Close This

दिवंगत शिक्षिका गिरीको स्मृतिमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-९-१२ गते   ३५८ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका १६ परवानीपुरमा रहेको डिम जनता माध्यमिक विद्यालयका अतिविपन्न विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।  डिम जनता माध्यमिक विद्यालयका १८ जना अतिविपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो । 
दिवंगत शिक्षिका अनिता गिरीको सम्झनामा उनका परिवारजनले स्थापना गरेको अक्षय कोषको रकमको ब्याजबाट विद्यालयमा बाल विकासदेखि कक्षा ५ सम्म अध्यायनरत प्रतिकक्षा ३ जनाका दरले जम्मा १८ जना अतिविपन्न विद्यार्थीलाई  शैक्षिक सामग्री वितरण गरिएको गिरीका परिवारजनले बताएका छन् । गिरीका परिवारले शिक्षिका अनिताको सम्झनामा विद्यालयमा रु २५ हजारको अक्षय कोष स्थापना गरेका थिए र सो रकमको वार्षिक रुपमा आउने ब्याजबाट हरेक वर्ष विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्दै आएका विद्यालयका प्रधानाध्यापक ध्रुवबहादुर भण्डारीले जानकारी दिनु भयो । अक्षय कोषकी संरक्षक एवं मृतक शिक्षिकाकी आमा सूर्यकुमारी गिरीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका पूर्व व्यवस्थापन समितिका अध्यक्ष भरतप्रसाद गौतम र प्रधानाध्यापक भण्डारीले शिक्षिका गिरीको योगदान बारे चर्चा गर्नु भएको थियो ।
गिरीको २०६९ साल पुस १२ गते अर्थात आजकै दिन बयलवास घरबाट परवानीपुर विद्यालयमा पढाउनका लागि आउँने क्रममा सवारी दुर्घटनामा परि घटनास्थलमै ज्यान गएको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech