Close This

सर्लाहीमा ठेकेदारको दादागिरी,सम्झौता विपरीत नदी दोहन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-९-१४ गते   ३२६ पटक हेरिएको

सर्लाहीको लखन्देही र बाँके खोलामा ठेकेदार कम्पनीले दादागिरी शैलीमा नदी दोहन गरिरहेको छ । स्थानीयको चर्को विरोधका बावजुद पनि लखन्देही र बाँके खोलामा ठेकेदार कम्पनीले दादागिरी शैलीमा नदी दोहन गरिरहेको हो । 
लालबन्दी नगरपालिका १२ डाब्कालीटोल र ११ हीरापुरघाटस्थित लखन्देही खोला र सागरनाथ वन क्षेत्र स्थित बाँके खोलाबाट अवैध रुपमानदी दोहन भएको स्थानिय लक्ष्मण खड्काले बताउनु भयो । क्रसर उद्योगहरुले अवैध रुपमा वन क्षेत्रमै नदी दोहन गरि रहँदा पनि सरोकारवाला निकाय स्थानिय सरकार, डिभिजन वन कार्यालय सर्लाही र स्थानिय प्रहरी प्रशासन मौन देखिएका छन् । लालबन्दी नगरपालिका ११ र १ नम्बर वडाको हीरापुर र स्याङतान नाकामा अत्यन्त गहिरो खाडल बनाएर गिट्टी बालुवा निकालेको भन्दै स्थानिय दुई दर्जन युवाहरूको समुहले खोलामा पुगेर नदी दोहनमा अवरोध समेत गरेका थिए । 


अहिले उक्त नाकामा आफ्ना गलत हर्कतको प्रमाण लुकाउन नदी दोहन गरेर पारिएका ठूलठूला खाडल पुरेर एक किलोमिटर उत्तर डाब्कालीटोल र हीरापुर नाकामा गुण्डागर्दी शैलीमा नदी दोहन सुरु गरिरहेको लालबन्दी नगरपालिका ११ का स्थानीय रामएकवाल महतोले बताउनु भयो । त्यस्तै अहिले पनि यस नाकामा खनिएका १५ देखि २० फिट गहिरो खाडल ठेकेदारले पुरेका छन् । हामीले पटक पटक वडाध्यक्ष दिपक लामा लगायत सम्बन्धित निकायमा समस्या समाधानका लागि हारगुहार गर्दापनि सुनुवाइ भएको छैन,’ महतोले गुनासो गर्नु भयो ।
‘ठेकेदार कम्पनीले मापदण्ड विपरीत ब्यापक रुपमा गिट्टी बालुवा निकालिरहेको छ । ‘१५ फिटभन्दा गहिरो नहर जस्तो लामो खाडल खनिएको छ, यसरी खाडल बनाएर गिटी बालुवा निकाल्दा भोलिका दिनमा बाढी आउँदा लालबन्दी १ को पलार गाउँ बढी जोखिममा पर्छ,’ वडानम्बर १ का वडाध्यक्ष पञ्चमान स्याङ्वोले बताउनु भयो । 
 ‘मैले यस विषयमा पटक पटक नगरप्रमुख मानबहादुर खड्कालाइ राख्दै आएको छु, तर उहाँले वास्ता गर्नुभएन, यस्तै ताल हो भने उत्खनन्मा रोक लगाउनुको विकल्प छैन।’ उहाँको भनाई छ । ठेकेदार कम्पनी, कर्मचारी र जनप्रतिनिधी समेतको मिलेमतोमा अवैध उत्खनन् भइरहेको स्थानियको आरोप छ ।
बाँके नदीमा उत्खननको ठेक्का पाएको क्रसर उद्योगले अवैध रुपमा वन क्षेत्रमै नदी दोहन गरेको छ । ईश्वरपुर नगरपालिकाले उत्खनन्का लागि नदीको करिब एक किलोमिटरभित्र ठेक्का लगाइएको भएपनि क्रसर उद्योगले वन क्षेत्र बाट नै नदी दोहन गरिरहेको छ ।
वन क्षेत्रमा थोरै लगानीमा राम्रो र बढी कच्चा पदार्थ पाउने भएपछि क्रसर उद्योगीले जंगलमा उत्खनन गरेको स्थानीयको भनाई छ । नगरपालिकाले वडा नम्बर १३ बाँके नदीको चार स्थानबाट उत्खननका लागि ठेक्का लगाएको छ ।
वडा नम्बर १३ को १२ नम्बर टोल क्षेत्रबाट ५ लाख ७५ हजार १ सय १२ घनमिटर, घाटटोल क्षेत्रबाट ४ लाख ५० हजार ८ सय ८८ घनमिटर, वडा नम्बर १३ मै पर्ने नदीको अन्य क्षेत्रबाट ५ लाख ३६ हजार ७ सय ६८ घनमिटर र रेल्वे क्षेत्रबाट ३३ हजार ७ सय ३९ घनमिटर नदी उत्खननका लागि १ करोड ८ लाखमा शिवम कन्स्ट्रक्सन जनकपुरलाई इश्वरपुर नगरपालिकाले ठेक्का दिएको हो । तर गैर कानुनी रुपमा वन क्षेत्र ठेक्का र नदी दोहन गरिए पछि स्थानीयदेखि वन परियोजनाका कर्मचारी समेत विरोधमा उत्रिएका छन् । सागरनाथ वन विकास परियोजनाका प्रमुख जितेन्द्र कर्माचार्यले वन क्षेत्रमा नियम मिचेर ईश्वरपुर नगरपालिकाले नदी दोहनको ठेक्का लगाएको आरोप लगाउनु भयो । परियोजना क्षेत्रमा उत्खनन्को ठेक्का लगाउँदा नगरपालिकाले आफुहरुसंग कुनै परामर्श र सहकार्य नगरेको उहाँको भनाइ छ । 
ईश्वरपुर नगरपालिकाकी उप प्रमुख एकावतीदेवी चौधरीले नियमानुसार नै उत्खनन्का लागि ठेक्का लगाइएको बताउनु भयो । जिल्ला समन्वय समिति सर्लाहीले दिएको वातावरणीय मूल्यांकन प्रतिवेदन अनुसार ठेक्का लगाएर उत्खनन्को सम्झौता भएको उहाँको भनाइ छ । नगरसंगको सम्झौता विपरीत ठेकेदार कम्पनीले अत्यन्त लापर्वाहीपूर्ण तरिकाले स्काभेटर प्रयोग गरी गिट्टी बालुवा निकालेको स्थानीयको आरोप छ ।
“गट्टी बालुवा निकालेको ठाउँमा गहिरो डरलाग्दो खाडल बनेको छ। नगरपालिकाले गत असोजमा ठेक्का आह्वान गरेर खोलाबाट गिट्टी बालुवा निकासा गर्न अनुमति दिएको थियो। खोला उत्खनन् अनुमति पाएको गजुरमुखी निर्माण कम्पनीले अवैध ढंगले नदीजन्य पदार्थ निकालेको हो । ” लालबन्दी नगरपालिका ११ का वडाध्यक्ष दीपक लामाले बताउनु भयो ।
राष्ट्रिय गौरवको आयोजनाको लागि भनेर गहिरो खाडल खनेर बस्ती नै विनाश हुनेगरी नदीजन्य पदार्थ दोहन गर्न नहुने स्थानिय जानकार उमाशंकर साहको भनाई छ । गजुरमुखी निर्माण कम्पनीले पुर्व पश्चिम विद्युतीय रेलमार्ग निर्माणका लागि उक्त स्थानबाट गिट्टीबालुवा निकाल्न ठेक्का सकारेको थियो। ठेक्का सम्झौता तथा वातावरणीय परीक्षण प्रतिवेदनमा उक्त स्थानबाट ६ सय मिटर लम्बाइ, ७५ मिटर चौडाइ र १.५ मिटर गहिराइको खाडल खनेर उत्खनन् गर्नुपर्ने उल्लेख गरिएको छ । तर, ठेकेदार कम्पनीले खनेको खाडल १२ देखि १५ फिटभन्दा गहिरो छ। २ सय मिटर लामो उत्तर–दक्षिण फैलिएको खाडलको चौडाइ भने ४० फिट बराबर रहेको छ । 
नगरपालिकाले प्रारम्भिक वातावरणीय परीक्षण अध्ययन गरी तयार पारिएको प्रतिवेदन अनुसार हीरापुर अन्तर्गत लखन्देही खोलाबाट १० हजार घनमिटर गिटीबालुवा निकाल्न सकिने उल्लेख छ। नगरपालिकाले लखन्देही खोलाकै वडा नं. ११ र १२ को स्याङतान नाकाबाट २१ हजार घनमिटर बालुवा एवम् ग्राभेल तथा वडा नं. १० र १२ को डब्काली टोल नाकाबाट १ लाख ३५ हजार घनमिटर बालुवा एवम ग्राभेल निकाल्न सकिने उल्लेख गरिएको छ। डाब्काली टोलस्थित खोलामा ९ सय मिटर लामो तथा सय मिटर चौडाइमा १.५ मिटर गहिराइ सम्मको गिटी बालुवा निकाल्न मिल्ने प्रारम्भिक वातावरणीय परीक्षण अध्ययनमा उल्लेख छ। 
“नगरपालिकाले हीरापुर नाका अन्तर्गतको ठेक्का गजुरमुखी निर्माण सेवाले रु २० लाख ५ हजारमा सकारेको” लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवनाथ पोखरेलले बताउनु भयो । सोही स्थानमा ठेकेदार कम्पनीले केही दिनदेखि अवैध उत्खनन् गरिरहेको छ। लालबन्दी नगरपालिकाको वडा नम्बर ११, १२ र वडा नम्बर १०, ११ स्थित दुई स्थानमा पनि यही कम्पनीले उत्खनन् गरिरहेको छ। 
“मापदण्ड अनुसार उत्खनन् नभएको पाइए कानूनी बमोजिम कारबाही गरिने प्रमुख प्रशासकीय अधिकृत पोखरेलको भनाई छ । तर प्रभावकारी अनुगमन नभएको पोखरेलले स्वीकार गर्नू भयो । ठेकेदार कम्पनीले उत्खनन् गरेपछि निरीक्षण गर्नु पर्ने नगरपालिकाका कर्मचारी तथा जनप्रतिनिधिहरुले स्थानीयबासीबाट आएको गुनासोमा कुनै चासो नदेखाउनुमा उनीहरूको समेत मिलेमतोको आशंका रहेको स्थानीयको भनाई छ । तर ठेकेदार कम्पनीले आफुहरुले सम्झौता र मापदण्ड विपरित उत्खनन् नगरेको दावी गरेको छ ।भने जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरीले भने आफुहरुले स्थलगत निरिक्षण गर्ने बताउनु भएको छ ।
गत वर्ष बाँके खोलामा यसैगरी गहिरो खनेर गिटी बालुवा निकाल्दा बनेको खाडलमा जमेको पानीमा डुबेर एक बालकको ज्यान गएको  थियो। त्यसविरुद्ध भएको आन्दोलनमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु र दर्जनौ स्थानिय तथा प्रहरी घाइते भएका थिए।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech