सिन्धुलीको मरिण गाउँपालिकाले मापदण्ड बिना ठुलो रकम इन्धनमा खर्च गरेको छ । गाउँपालिका कार्यालयले प्रयोजन र पदाधिकारी शीर्षकमा एक वर्षमै रु ५४ लाख ६५ हजार आठ सय ७८ को इन्धन खर्च गरेको हो ।सार्वजनिक खर्चमा मितव्ययिता र प्रभावकारिता कायम गर्ने सम्बन्धी नीतिगत मार्गदर्शन, २०७७ मा सवारी साधनको इन्धन,मर्मत खर्चमा एकरूपता ल्याउन निश्चित मापदण्ड बनाई कार्यान्वयनमा ल्याउनुपर्छ।साथै सरकारी सवारी साधन सरकारी काममा मात्र प्रयोग गर्ने र सरकारी सवारी साधन अनाधिकृत व्यक्तिले प्रयोग नगर्ने जस्ता व्यवस्था रहेको छ ।तर सो व्यवस्थालाई लत्याएर गाउँपालिकाले इन्धनमा ठुलो रकम खर्च गरेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ।गाउँपालिका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात),प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जी सहितका जनप्रतिनिधिहरु र कर्मचारीहरू अहिले पनि सरकारी सवारीको दुरुपयोग गरिरहेका छन्।उनीहरू निजी काममा र बिदाका दिन पनि सरकारी सवारी नै प्रयोग गर्छन् ।
मरिण गाउँपालिकाले कानुनी व्यवस्थाको पालना नगरी भौचर साथ लग बुक समेत संलग्न नराखी कार्यालय प्रयोजनको शीर्षकमा रु ३१ लाख ३० हजार दुई सय ४३ को इन्धन खर्च गरेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।
“इन्धन खर्चको मापदण्ड तयार गरेको छैन भने सवारी साधन अनुसार वार्षिक इन्धन खर्च र उपयोगको विवरण खुल्ने गरी अभिलेख समेत राखेको छैन।” प्रतिवेदनमा भनिएको छ ।इन्धन खर्चलाई मितव्ययी बनाउन कोटा निर्धारण गरी लग बुक राखेर मात्र खर्च लेख्नतर्फ पालिकाको ध्यान दिन महालेखा परीक्षकको प्रतिवेदनमा सुझाव दिएको छ।पालिकाले मापदण्ड विना इन्धनको भुक्तानी गरेको भन्दै सो रकमलाई सैद्धान्तिक बेरुजु कायम गरिएको छ ।
गाउँपालिका अध्यक्षको सवारी मर्मतमा मात्रै रु १६ लाख खर्च
गाउँपालिकाले सवारी साधन मर्मतमै रु २२ लाख बढी रुपैयाँ खर्च गरेको छ।सवारी मर्मत रु २२ लाख ४३ हजार दुई सय ६८ खर्च गरेको छ ।मरिण गाउँपालिकाले २०७६ सालमा अर्थात् ४ वर्ष अघि रु ४९ लाखमा खरिद गरिएको पालिका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात)ले प्रयोग गरेको ज १ झ ४२२ नम्बरको स्कार्पियो एक वर्ष मै रु १६ लाख २८ हजार चार सय ९६ मर्मत खर्च गरेको छ।तर उपाध्यक्ष विमला माझीले प्रयोग गरेको गाडीको मर्मत खर्च रु ६० हजार सात सय ३७ मात्रै रहेको छ।
त्यस्तै आर्थिक वर्ष २०८०/०८१ मा सवारी साधन मर्मतमा पालिकाले रु २६ लाख ६० हजार तीन सय ६१ खर्च गरेको छ ।महालेखा परीक्षकको प्रतिवेदन अनुसार पालिकाले यति धेरै रकम मर्मतको नाममा खर्च गरेको भए पनि मर्मत आदेश,मर्मत दाखिला र सोको व्यवस्थित खर्चको मर्मत अभिलेख खाता राखेको पाइएको छैन।अभिलेख नराखेकाले एउटै समान बारम्बार मर्मत हुनाले एउटै साधनको एकै प्रकारको समान फेरिएको हुन सक्ने सम्भावना रहन्छ । प्रतिवेदनमा भनिएको छ ।
नियमानुसार मर्मत अभिलेख राख्ने र मर्मत अभिलेखको आधारमा खर्च गरी सम्पत्तिको संरक्षण तथा खर्चमा नियन्त्रण गर्न महालेखा परीक्षकको प्रतिवेदनमा सुझाव दिएको छ।मर्मतको नाममा गरिएको खर्च पनि सैद्धान्तिक बेरुजु कायम गरिएको छ ।मरिण गाउँपालिकाको इन्धन र सवारी साधन मर्मतमा यसरी अस्वाभाविक खर्च किन देखियो भन्ने प्रश्नमा प्रमुख प्रशासकीय अधिकृत दर्जीले अघिल्लो कार्यकालमा नै स्कार्पियो पानीमा डुबेको र भौगोलिक कारणले कच्ची बाटोमा हिँड्दा इन्जिन बिग्रिएर बनाउँदा रु १६ लाख खर्च भएको बताए ।