Close This

सर्लाही स्थित भारतीय सिमानाका सिल

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७६-१२-१० गते   ३६३ पटक हेरिएको

कोरोना भाईरस (कोभिड–१९) को संक्रमणबाट बच्नका लागि सर्लाही स्थित भारतसँग जोडिएका सबै सिमा नाका ‘सिल’ गरिएको छ । सोमबार १० बजेबाट भारतीय सिमामा रहेका १५ वटै नाका बन्द गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिनु भयो ।  ‘भारतीय सिमा नाकाबाट अत्यावश्यक बाहेक यात्रु ओहोरदोहोर लगायत बन्द गरिएको र यो प्रक्रिया सातदिन सम्म रहने प्रहरी उपरिक्षक पोखरेलले बताउनु भयो ।  
सर्लाही स्थित १५ वटा नाका मध्ये हिजो आईतबार देखि स्थानीय प्रशासनले दुईवटा नाकाबाट मात्र आवतजावत गर्न दिएको थियो । सदरमुकाम स्थित मलंगवा तथा बलरा नगरपालिका स्थित लक्ष्मिपुर नाका खुलाईएको थियो । सोमबारबाट भने ती दुई नाकाबाट समेत यात्रु लगायत सर्वसाधारणको आवतजावत बन्द गरिएको प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिनुभयो । त्यसैगरी सर्लाहीका भारतसँग जोडिएका सिमा नाका ‘सिल’ गरेपछि भारतको सोनवर्षा तथा सितामाढी बजार गर्नका लागि जाने तथा भारतबाट आउने हजारौं सर्वसाधारण रोकिएपछि भारतीय सिमा नाका सुनसान बनेको छ । अत्याबश्यक सामान ढुवानी बाहेक सम्पूर्ण चहलपहल, ओहोरदोहोरमा रोक लगाईएपनि ढुवानी समेत नभएको सशस्त्र प्रहरी उपरीक्षक विनोदराज श्रेष्ठले बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech