सर्लाहीको दक्षिणी क्षेत्रमा पर्ने महालक्ष्मी चिनी उद्योग गोडैताले भारतबाट उखु मगाएर क्रसिंङ गरिरहेको छ । नेपाली किसानहरुले उखु नदिएपछि उद्योगले आफ्ना दलालहरु मार्फत तुरुन्त पैसा तिरेर अवैध किसिमले भारतबाट उखु ल्याएर क्रसिंङ गरेको हो ।
नेपाली किसानहरुको उखुको भुक्तानी गर्न कुनै चासो नदेखाएको उद्योगले छिमेकी देश भारतबाट उखु मगाएर क्रसिङ गरिरहेको भन्दै स्थानीय किसानहरुले गुनासो गरेका छन् । नेपाली किसानको भुक्तानी नदिने तर भारतबाट आयात गर्ने त्यस्ता उद्योग र उद्योगीहरुलाई कार्यबाही गरिनुपर्ने आवाज किसानहरुले उठाउन थालेका छन् ।
यता,उद्योगका प्रशासकीय प्रबन्धक विरेन्द्र कुमार श्रीवास्तवले उखु किसानको भुक्तानी नियमित बनाउने बताएका छन् ।उनले नेपाली उखु कम भएपछि भारतबाट ल्याएर उद्योग संचालन गरेको बताएका हुन् । पछिल्लो समय केही उद्योगहरुले किसानहरुको भुक्तानी समयमै नगरेका कारण जिल्लाका किसानहरुको उखु खेती प्रतिको आकर्षण घटेको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ ।
भारतीय उखु नेपाली उखुको भन्दा सस्तो मुल्यमा पाइने भएकोले उद्योगले स्थानीय किसानले उत्पादन गरेको उखु प्रति बेवास्ता गरेको गोडैताका एक उखु किसानको भनाइ छ ।उद्योगले जतासुकैबाट उखु ल्याए पनि पहिलो प्राथमिकता स्थानीय किसानलाई दिनुपर्ने नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनालीले बताउनु भयो । पहिला स्थापनिय स्रोत साधनलाई प्राथमिकता दिनु पर्ने उहाँको भनाई छ ।